newskoseli.Com

सुगौली सन्धिअघिको ‘स्केच म्याप’ ले नै भन्छ– कालीको मुहान लिम्पियाधुरा

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ ।

इतिहासकार प्रा.डा. रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन् । उनले भने– ‘इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन्, सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु, त्यसमा काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ ।’

ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय अभिलेखालयमा संरक्षित तथ्यहरूबारे चर्चा गर्दै उनले भने– ‘ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र हाम्रो हो ।’ ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महत्त्वपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको समेत उनले चर्चा गरे ।

प्रा.डा. ढुङ्गेलले भने– ‘सुगौली सन्धि हुनुभन्दा अगाडिको स्केच म्याप पनि पाइएको छ, इस्ट इन्डिया सरकारले छापेको सन् १८२७ को नक्सा र त्यसपछि सन् १८५६ सम्म छापिएका आधिकारिक नक्सामा लिम्पियाधुराबाट पूर्व बग्ने नदीलाई काली भनिएको छ ।’ उनका अनुसार सन् १८५६ सम्मका नक्सामा काली नदीलाई लिम्पियाधुरा अथवा जोलिङघाङ पश्चिमबाट दक्षिण–पूर्वतर्फ बगेको नदीलाई काली नदी भनिएका छन् ।

उनका अनुसार सन् १८५६ अघिका नक्सामा लिम्पियाधुराको पश्चिमबाट दक्षिण–पूर्वतर्फ भएर कुटी, नाभी, गुञ्जी गाउँहरू हुँदै बग्ने नदीलाई काली नदी भनिएको छ । यो काली नदीलाई स्थानीय भाषामा कुटियाङ्ती भनिन्छ । सन् १८५६ भन्दा पछिका नक्सामा पश्चिमबाट आएको नदीलाई काली लेख्न छाडेर कुटियाङ्ती भन्न थालिएको प्रा.डा. ढुङ्गेलले बताए ।

उनले भने– ‘पूर्व–दक्षिणबाट बग्ने लिपुखोलालाई काली लेखेर झुक्याउने काम भयो । किन भयो, त्यो थाहा छैन ।’ हालै जारी गरिएको नेपालको अध्यावधिक नक्सा र भारतको दादागिरीविरूद्ध नेपालकाे पक्षमा भए–रहेका प्रमाणसम्बन्धी यो खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर