newskoseli.Com

मंगलबार मध्यरातदेखि हट्यो १२० दिन लामो लकडाउन : अरू के–के कहिले खुल्ने ?

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि १२०औं दिन पूरा गरेर हटेको छ । मंगलबार (६ साउन) सकिएसँगै अन्त्य गर्ने निर्णय सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

सुरुमा ७ दिनका लागि जारी गरिएको लकडाउन पटक–पटक म्याद थपेर जेठ २६ सम्म कडारुपमा तन्काइएको थियो । जेठ २७ देखि कयौं क्षेत्र खुला गरेर पसल खोल्न तथा निजी सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिएको थियो । मंगलबार मध्यरातदेखि लकडाउन पूर्णरुपमा हटेको जानकारी अर्थ एवं सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिएका छन् ।

लकडाउन खुले तापनि शैक्षिक संस्थाहरु, सभा–गोष्ठी, प्रदर्शन–भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडियाखाना अझै नखुल्ने प्रवक्ता खतिवडाले बताएका छन् ।

साउन १५ देखि होटल तथा रेष्टुरेन्टहरु खुला गर्न र भदौ १ देखि शिक्षण संस्था खोलेर विद्यार्थी भर्ना र परीक्षालगायतका गतिविधि गर्न सरकारले अनुमति दिएको छ । भदौ १ देखि नै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात खुला हुने तथा अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणहरु सञ्चालन गर्न समेत सरकारले अनुमति दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर