newskoseli.Com

सोमबारदेखि शुक्रबारसम्म भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह !

मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना औंल्याउँदै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रने सम्भावना देखिएकाले सोमबार रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा मनसुन सक्रिय भई ३ देखि ५ दिनसम्म देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै देशका थुप्रै स्थानहरुका नदी–खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएका ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश– १, प्रदेश– २ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । सोमबार राति, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश– ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर