newskoseli.Com

एक साता थपियो निषेधाज्ञा, पुर्‍याइयाे भदाै १७ सम्म

भदौ ३ देखि राजधानी उपत्यकामा जारी निषेधाज्ञा अर्को एक हप्ता लम्ब्याएर भदौ १७ सम्म पुर्‍याउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यका हेर्ने सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य अधिकारीहरूसँगको छलफल र परामर्शपछि निषेधाज्ञा थप गर्ने निर्णय बुधबार गरेका हुन् ।

भदौ ३ मध्यराति १२ बजेदेखि सुरु निषेधाज्ञा बुधबार मध्यराति १२ बजे सकिँदै थियो । उपत्यकामा कोरोनाभाइरसका संक्रमित निरन्तर बढिरहेकाले अर्को एक साता निषेधाज्ञा थप गरी भदौ १७ सम्म लम्ब्याउने निर्णय गरिएको जानकारी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिएकी छन् ।

उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले समेत कोरोनाभाइरसको संक्रमण बढिरहेकाले भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेको थियो । जिल्ला कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच मंगलबार भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिने निष्कर्ष निकालेको थियो ।

निषेधाज्ञाभर औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदका लागि मात्र घरबाहिर निस्कन पाइने छ । अत्यावश्यकीय सामग्रीको ढुवानी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । घरबाहिर निस्कनेले मास्क अनिवार्य लगाउनु पर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर