newskoseli.Com

बुधबारदेखि सोह्रश्राद्ध : कुन तिथिको श्राद्ध कति गते, कुन बेला गर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नू भनी धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेखित वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निकालेका छन् । पितृपक्ष समेत भनिने सोह्रश्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि सुरु हुँदैछ ।

बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्नेगरी निर्धारण गरिएको जानकारी उनले दिएका छन् । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियोपूजा, विश्वेदेवा ब्राह्मणलगायतका पूजा भने तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन् ।

त्यसैगरी, द्वितीया तिथिको श्राद्ध भदौ १८ गते बिहीबार दिउँसो १ः१७ देखि ३ः४८ सम्म निर्धारण गरिएको छ । त्यस्तै, तृतीया तिथिको श्राद्धको समय भदौ १९ गते १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार भने कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पञ्चाङ्ग (पात्रो) हरुमा उल्लेख छ । चतुर्थी तिथिको श्राद्ध भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नु पर्नेछ ।

यस्तै, पञ्चमी तिथिको श्राद्ध भदौ २२ गते सोमबार दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गरिसक्नु पर्नेछ । यसैगरी, षष्ठी तिथिको श्राद्ध भदौ २३ गते मङ्गलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नु पर्नेछ । सप्तमी तिथिको श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नु पर्नेछ । अष्टमी तिथिको श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नु पर्नेछ ।

नवमी तिथिको श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथिको श्राद्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नु पर्नेछ । एकादशी तिथिको श्राद्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नु पर्नेछ । द्वादशी तिथिको श्राद्ध भदौ २९ गते सोमबार १ः१२ देखि ३ः४० सम्ममा गर्नु पर्नेछ । त्रयोदशी तिथिको श्राद्ध भदौ ३० गते मङ्गलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नु पर्नेछ ।

यसैगरी, चतुर्दशी तिथिको श्राद्ध भदौ ३१ गते बुधबार १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नु पर्ने र औंसी तिथिको श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नु पर्ने सम्पादक पन्तले बताएका छन् । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय भनाइ छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्रश्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । केही स्थानीय तहहरुले त विद्युतीयरुपमा (अनलाइनबाटै) श्राद्ध गर्न र घरमा पुरोहित नबोलाउन सार्वजनिक सूचना समेत जारी गरेका छन् ।

कुनै कारणवश श्राद्ध रोकिएमा त्यसलाई फुकाउने अनेक विकल्प शास्त्रमा दिइएका छन् । सोह्रश्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ, कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्ममा गर्नु हुने आपत् धर्मअनुसारको शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर