newskoseli.Com

खड्ग ओली पहिलो पटक बैठकका लागि पेरिसडाँडा : मन्त्रीहरू हेरफेरबारे के–के भयो छलफल ?

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकीकरण भई नेकपा गठन भएयता पहिलो पटक पार्टी कमिटीको उच्चस्तरको बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालयमा बसेको छ । राजधानीको कोटेश्वरस्थित पेरिसडाँडामा अवस्थित कार्यालयमा आइतबार नेकपाको सचिवालय बैठक बसेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सचिवालयका सबै नेता सहभागी भए ।

विभाजनको डिलमा पुगेर रोकिएको सत्ताधारी नेकपा जोड्ने ‘सुपरग्लु’ ठानिएका केही पक्षमध्ये मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केन्द्रित भएर आइतबारको बैठकमा छलफल भएको छ । अहिले मन्त्रिपरिषदमा रहेकामध्ये को–को हट्ने र को–को मन्त्रीपरिषदमा उक्लने भन्नेबारे भने छलफल सुरु भैसकेको छैन ।

अध्यक्षद्वयसहित सचिवालयका नेताहरु ‘सरकारलाई प्रभावकारी बनाउन’ मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा भने पुगेका छन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनका तीन विकल्पमाथि छलफल ओपन गरेको बैठक स्रोतले बतायो । एक, अहिले मन्त्रिपरिषदमा रहेका सबैलाई हटाएर समग्र पुनर्गठन गर्ने; दुई, सबभन्दा पहिले मन्त्री बनेकाहरुलाई हटाएर पछि थपिएकालाई कायम राखी बाँकी स्थानमा नयाँ अनुहार ल्याउने र तीन, पर्फर्मेन्सका आधारमा केही मन्त्री हटाई केहीलाई कायमै राखेर थप स्थानमा थप्ने विकल्पमाथि छलफल गरी सुझाव दिन प्रधानमन्त्री ओलीले बैठकमा ‘फ्लोर ओपन’ गरेका छन् ।

ओलीको प्रस्ताव सुनिसकेपछि कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले भने एकसाथ सबै मन्त्रीहरूलाई हटाउनु नहुने धारणा राखेको बताइएको छ । ‘राम्रो काम गरेकाहरुलाई निरन्तरता दिनुपर्छ तर धेरै मन्त्रीहरू भने नयाँ नै बनाउनु उपयुक्त हुन्छ’– प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर