newskoseli.Com

सत्ताधारी नेकपाका महासचिवले गरे विभाजनको संकेत (स्ट्याटससहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साे पार्टी विभाजनको सन्निकट पुगिसकेको संकेत गरेका छन् । आइतबार अपराह्न सामाजिक सञ्जाल ‘फेसबुक’ मा लामो ‘स्ट्याटस’ लेख्दै महासचिव पौडेलले त्यस्तो संकेत गरेका हुन् ।

‘राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो,’ महासचिव पौडेलले लेखेका छन्– ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रासामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताका बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

नेकपा विभाजनकै संघारमा पुगिसकेको कुरा खुलाउँदै उनले अगाडि लेखेका छन्– ‘नेतृत्वतहमा उत्पन्न अन्तर्विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ, आपसी अन्तर्विरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्ष तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाललगायतकाे बहुमत पक्षबीच अन्तर्विरोध उत्कर्षमा पुगिरहेको अनि पार्टीभित्रैबाट अल्पमतमा परी ओली नेतृत्वको सरकार समेत गिर्ने परिस्थित बन्दै गैरहेको वर्तमान सन्दर्भमा ओलीका सबैभन्दा निकटस्थ विश्वासपात्र पौडेलद्वारा सार्वजनिक यो ‘अपिल’ लाई ‘दायाँ–बायाँ गरे पार्टी फुटाइदिन्छु नि’ भनी अप्रत्यक्षरुपमा ओलीले नै दिएको ‘चेतावनी’ का रुपमा धेरैले लिएका छन् ।

महासचिव पौडेलको ‘स्ट्याटस’, जस्ताको तस्तै–

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय…

Posted by Bishnu Prasad Paudel on Sunday, November 1, 2020

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर