newskoseli.Com

महरापत्नी सीताको कोरोनाबाट निधन : प्रधानमन्त्री तथा अध्यक्षद्वयद्वारा श्रद्धाञ्जली र समवेदना

पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कात्तिक १३ मा उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वास–प्रश्वासको समस्या झन् बढेपछि कात्तिक १४ मा उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा महरामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

१५ कात्तिकदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ मा सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित रहँदै आएकी थिइन् ।

प्रधानमन्त्री र अध्यक्षद्वारा श्रद्धाञ्जली र समवेदना

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली र पूर्वप्रधानमन्त्री एवं कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महराको निधनप्रति दुःख व्यक्त गर्दै सीताप्रति श्रद्धाञ्जलि अर्पण र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘ट्विटर’ मा लेखेका छन्– ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

त्यसैगरी, अध्यक्ष प्रचण्डले सीता महराको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष प्रचण्डले बुधबार शोक–वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । असल, सरल, मृदुभाषी र जनताका बीच चाँडै घुलमिल गर्न सक्ने क्षमताकी धनी सीताले तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रियरुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गरेको स्मरण समेत प्रचण्डले गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर