newskoseli.Com

ओली र पाँच नेताबीच चर्काचर्की : के–के भयाे बालुवाटारमा ?

विभाजनको डिलमा पुगेको सत्ताधारी नेकपाभित्र पार्टी एकता बचाउन भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीसँग सचिवालयका पाँच नेताले शनिबार बिहान भेटघाट र कुराकानी गरे । कुराकानीका क्रममा अध्यक्ष ओली र पाँच नेताबीच चर्काचर्की नै परेको बालुवार स्रोतले न्युजकोसेलीलाई बतायो ।

सचिवायलसहित स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउन अस्वीकार गर्दै आएका ओलीसँग तत्काल सचिवालयको बैठक बोलाउन पाँच नेताले आग्रह गरे । शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक बैठक गरेका सचिवालयका पाँच नेता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सोही बैठकको निर्णयअनुरूप शनिबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

अपडेट (भिडियो):

ओली पक्षका ४ जनाबाहेक (प्रचण्ड–नेपाल पक्षका ५ जना) सचिवालय सदस्यहरू अनौपचारिक बैठकमा बसे । बैठकमा के–के छलफल भयो र के निष्कर्ष निकालियो भन्नेबारे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारी, हेर्नोस् भिडियोमा ।

कार्यकारी अध्यक्ष प्रचण्डले औपचारिक बैठक नै बोलाउन सक्ने भए तापनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका साथ अघि बढ्ने उद्देश्यका साथ शुक्रबार अनौपचारिक बैठक मात्र बसेर औपचारिक बैठक भने ओली पक्षसहितको सहमतिमा बसाल्न ओलीसँगै सामूहिक आग्रह गर्ने निर्णय शुक्रबारको बैठकले गरेको थियो ।

पार्टीभित्रको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने र अहिलेसम्मका कामहरुको समीक्षा गर्ने, पार्टीले विगतमा गरेका निर्णयहरूको कार्यान्वयन गर्ने तथा पार्टीलाई एकताबद्ध पारेर अगाडि बढाउन आवश्यक कदम चाल्नका निम्ति छिटो बैठक बोलाइनुपर्नेमा पाँच नेताको जोड छ । सोहीअनुसार माग गर्दै पाँच नेताले ओलीलाई शनिबार लिखित पत्र नै बुझाए ।

के–के भयो बालुवाटारमा ?

शनिबार बिहान पाँच नेता धुम्बाराहीस्थित कार्यालयमै भेला भएर बालुवाटार गए । यद्यपि बालुवाटारको भेटघाट भने सकारात्मक दिशातर्फ मोडिएन । एक नेताले दिएको जानकारीअनुसार अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा पुगेका कार्यकारी अध्यक्ष प्रचणडसहितका पाँच वरिष्ठ नेताहरुसँग आक्रामक एवं आवेगपूर्ण ढंगले प्रस्तुत भए । पाँच नेताले आफूविरुद्ध चरम गुटबन्दी गरेको गम्भीर आरोप ओलीले लगाए । ‘यही अवस्थामा बैठक बोलाउन म कुनै हालतमा पनि तत्पर हुन सक्दिनँ,’ ओलीले कड्किँदै भने– ‘‘म बैठक बोलाउन्नँ, किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’

पार्टीभित्रैबाट आफूलाई सधैं अप्ठ्यरोमा पार्ने काम भइरहेको भन्दै जनमतको अपमान नगर्न समेत ओलीले पाँच नेतालाई ‘चेतावनी’ दिएपछि प्रचण्ड पनि जंगिए । गुटबन्दी आफूहरुले गरेको नभई ओलीबाटै भएको जवाफ प्रचण्डले फर्काए । ओलीले नै ‘जबज’ ब्युँताउने भन्दै जुम बैठक गरेर गुटबन्दीको आह्वान गरेको प्रचण्डले बताए । हरेक विषयमा मनपरी गर्ने र पार्टीमा कुनै छलफल नगर्ने ओलीको व्यवहारले पार्टी धरापमा परेको प्रचण्डले उल्लेख गरे ।

बालुवाटारमा करिव दुई घन्टा छलेको गलफत्ती ओली र पाँच नेताहरुबीचको आरोप–प्रत्यारोपमै सकियो । विवाद र आरोप–प्रत्यारोपले थप समस्या नित्याउने भन्दै सहमति र समझदारीबाट नै अघि बढ्नुपर्नेमा ओली पनि सहमत हुनपर्ने धारणा राखेर पाँच नेता हिँडे ।

थप यो पनि पढ्नुहोस्–
ओली–पोखरेलले अघि बढाए ‘बेग्लै पार्टी’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर