newskoseli.Com

‘ओलीको दम्भ र अहंकार अझै घटेन’ : सचिवालय बैठकमै ओली–प्रचण्ड बाझाबाझ

शनिबार बसेको सत्ताधारी नेकपाको सचिवालयको बैठकमा ३८ पृष्ठको ५३ बुँदे ‘जवाफी प्रस्ताव’ वितरण गरेपछि त्यसको सारांश बताउँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्ग ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि विभिन्न आक्षेप लगाए । अध्यक्ष प्रचण्डले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ्छनाहरूको पुलिन्दा’ को संज्ञा दिँदै आएका ओलीले प्रचण्डको सो दस्तावेज पार्टीमा दर्ता र छलफल हुनै नसक्ने जिकिर शनिबार पनि गरे ।

के–के भने ओलीले ?

प्रचण्डले ‘क्षमायाचना’ गर्दै सो प्रस्ताव फिर्ता नलिए पार्टी एकता कायम रहनु असम्भव हुने धम्की दिँदै यदि बहुमतबाट सो प्रस्ताव पारित गरिए नेकपा विघटन भएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कै स्वरूपमा २०७५ जेठ २ को स्थितिमा फर्कने दावी ओलीले गरे ।

कुनै पनि अधिवेशन–महाधिवेशन नभएको स्थितिमा अहिलेका ‘अन्तरिम’ कमिटीहरूले बहुमत–अल्पमतका आधारमा कुनै निर्णय गरे त्यसलाई आफूले नमान्ने ओलीले बताए ।

के– गरे ओलीले ? के भने प्रचण्डले ?

ओलीका यी अभिव्यक्तिपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोले । ओलीले यसअघि नै चार पटकसम्म पार्टी फुटाउने कोसिस गरेको प्रचण्डले बताए । ‘पहिलो– केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटका साथीहरुको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउनुपर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थितरुपमा अगाडि बढाउनुपर्छ भनेर निर्णय गर्नुभयो । दोस्रो– अध्यादेश ल्याउँदा नै फुटाउने कदम चाल्नुभएको हो । तेस्रो– निर्वाचन आयोगमा एमाले दर्ता गर्नुभयो । चौथो– स्थायी कमिटीको बैठकपछि पनि मदन भण्डारी फाउन्डेसनका गतिविधिलाई वडासम्म लैजान निर्देशन दिनुभयो र फुटका निम्ति संगठनात्मक आधार तयार पार्ने काम गर्नुभयो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत सचिवालयका एक नेताले भने– ‘जबकि स्थायी कमिटीले कुनै पनि प्रतिष्ठानका गतिविधि बन्द गर्ने भनेको थियो । चार पटक तपाईंले पार्टी फुटाउन खोज्नुभएको छ । तर, हामीले धैर्यतापूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौं, रक्षा गर्न अहिले पनि दृढ छौं ।’

राजनीतिक प्रस्ताव र पत्र समेटेर बुकलेट किन प्रकाशित भयो भन्ने ओलीको पश्नबारे प्रचण्डले भने– ‘छलफल–बहसका लागि, पार्टीको बैठकका लागि सहमति जनाउनोस् भनेर पत्र लेखेकै भरमा तपाईंले हामीमाथि आरोपसहितको प्रत्युत्तर लेखेपछि म पनि प्रत्युत्तर र प्रस्ताव लेख्ने ठाउँमा पुगेको हुँ । दोस्रो, अघिल्लो सचिवालय बैठकमा तपाईंले बोलेको कुरा रेकर्ड गरेर बाहिर दिनुभएछ । तपाईंले दिएको प्रत्युत्तर पनि बैठकभन्दा पहिले मिडियामा आयो । त्यो दिन तपाईंले बोलेका कुरा टेपरेकर्ड उतारेर हुबहु मिडियामा गयो भनेपछि के बाँकी रह्यो ? त्यसो भएपछि बरु सबै दस्तावेज अध्ययनका लागि सजिलोका निम्ति एकै ठाउँ राखेको हो । मलाई शंका छ कि आज तपाईंले बोलेको कुरा पनि तपाईंले मिडियाका लागि नै बोल्नुभएको होला ।’

अझै घटेन दम्भ र अहंकार !

ओलीको प्रस्ताव र अभिव्यक्तिले अझै पनि अहंकार र दम्भ देखाएको बैठकमा प्रचण्डले बताए । ‘तपाईंलाई कहिल्यै पनि आफ्नो गल्तीतिर फर्कन मन लाग्दैन, तपाईंको आजको प्रत्युत्तरमा पनि अहंकार र दम्भ छ; तपाईंमा आत्मसमीक्षा गर्ने भन्ने प्रवृत्ति नै रहेनछ, तैपनि तपाईंले प्रत्युत्तर पेस गर्नुभयो– त्यसलाई सकारात्मकरुपमा लिएको छु, छलफल गरौं र पार्टी एकतालाई नै योगदान पुर्‍याउने गरी निष्कर्ष निकालौं ।’

ओली–प्रचण्ड सवाल–जवाफसम्बन्धी यो खबर बबिता शर्माको बाइलाइनमा इकान्तिपुर डटकमले शनिबार प्रकाशित गरेको छ ।

थप यी समाचार पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
‘बहुमत–अल्पमत गरे पार्टी फुट्छ’ : सचिवालय बैठकमै ओलीको चेतावनी
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर