newskoseli.Com

‘निर्णायक’ बैठकअघि ओली पुगे खुमलटार : के–के भए कुराकानी ? कता जाँदैछ नेकपा ?

दुई महिना अघिदेखि उत्कर्षमा रहेको सत्ताधारी नेकपाभित्रको पछिल्लो पटकको विवाद प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएयता चमोत्कर्षमा पुगेको छ । २८ कात्तिकमा अध्यक्ष प्रचण्डले ‘ओली प्रवृत्ति’ बारे समग्र चिरफार र संश्लेषणसहित राजनीतिक प्रस्ताव प्रस्तुत गरेयता उत्कर्षमा पुगेको विवादले नेकपालाई विभाजनमै पुर्‍याउने अडकलबाजी चलिरहेका बेला अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री एवं अर्का अध्यक्ष खड्ग ओली शनिबार राजधानी (ललितपुर) को खुमलटारस्थित प्रचण्ड निवास पुगे ।

केहीबेर अध्यक्षद्वयबीच छलफल भएलत्तै उपाध्यक्ष वामदेव गौतम समेत थपिए । त्यसपछि तीन नेताबीच केहीबेर कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ । खुमलटारबाट फर्कने क्रममा पुल्चोकस्थित मन्त्री निवासमा समेत पसेर प्रधानमन्त्री ओलीले गृहमन्त्री एवं नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सँग पनि भेटवार्ता गरे ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत पक्षले साझा दस्तावेजका रूपमा अघि सारेको प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘आलोचनापत्र’ र ‘आरोपहरुको पुलिन्दा’ को संज्ञा दिँदै त्यसमाथि पार्टीका कुनै पनि कमिटीमा छलफल हुन नसक्ने दावी ओलीले गर्दै आएका छन् । यद्यपि १९ पृष्ठको सो प्रस्तावको ‘जवाफ’ मा अर्का अध्यक्ष ओलीले ३८ पृष्ठको ‘जवफी प्रस्ताव’ १३ मंसिरको सचिवालय बैठकमा पेस गरिसकेका छन् ।

ओलीले पार्टीलाई बेवास्ता गर्दै गुटका आधारमा सरकार र पार्टी दुवैलाई लतार्ने काम गरिरहेको भन्दै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद तत्काल छाड्नैपर्ने र बाँकी रहेको पदमा बस्दा समेत पार्टीका निर्णयअनुसार काम गर्नुपर्ने मान्यतामा प्रतिबद्धता नजनाएसम्म नछाड्ने तयारीका साथ प्रचण्ड–माधव नेतृत्वको बहुमत पक्ष क्रियाशील छ । ओलीले भने अझै पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान राखिरहेका छन् ।

यसैबीच, संविधानका आधारभूत मान्यता नै खण्डित हुने गरी मंगलबार जारी गरेको अध्यादेशपछि ओलीविरुद्धको माहोल अझ विष्फोटक स्थितिमा पुगेको छ । बुधबार शीर्ष नेताहरुबीच भएको छलफल र स्थायी कमिटीको बैठकबाट एकमतका साथ सो विधेयक फिर्ता लिने निर्णय भए तापनि ओलीले त्यसलाई समेत कार्यान्वयन गर्न मानिरहेका छैनन् ।

अध्यादेश फिर्ता नलिए ओलीमाथि ‘एक्सन लिने’ चेतावनी प्रचण्डले शुक्रबार दिएका छन् । त्यसको भोलिपल्टै (शनिबार) प्रचण्डलाई भेट्न ओली उनकै निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीभित्र अल्पमतमा परेका ओलीमाथि प्रचण्ड–नेपाल नेतृत्वको बहुमत पक्षले दबाव तीव्र पारेको छ । यस्तो बेला भएको छलफलमा समेत ओलीले पुरानै अडान दोहोर्‍याएको बताइएको छ । स्रोतले दिएको जानकारीअनुसार शनिबार पनि ओलीले प्रचण्डसँग आफूले दुवै पद नछाड्ने र प्रचण्डको राजनीतिक प्रस्तावमाथि कमिटीमा छलफल गर्नु नहुने जिद्दी नै दोहोर्‍याए ।

सहमति जुट्न सके त्यसतर्फकै प्रयास अघि बढोस् भनेर यसअघि पटक–पटक स्थगित गरिएको स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । र, अब भने बैठकहरु स्थगित नगरी कार्यसूचीमा प्रवेश गरेर गम्भीर छलफल गर्दै निष्कर्षमा पुर्‍याइने र निर्णय लिने नेताहरुको भनाइ छ । अबका बैठकहरु ‘निर्णायक’ हुने भएकैले हप्ता–दस दिनभित्र नेकपाको भविष्यबारे फैसला हुने देखिँदैछ । यही स्थितिलाई बुझेर दुवै पक्षले आ–आफ्ना गतिविधि तीव्र पारिरहेकै बेला प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर