newskoseli.Com

यसरी फुट्दैछ नेकपा : मंगलबारै केन्द्रीय कमिटीका बेग्लाबेग्लै बैठक– पार्टीले बोलायो १ बजे, ओलीले बोलाए ९ बजे !

विभाजनको अन्तिम विन्दुमा पुगेको सत्ताधारी नेकपाका दुवै पक्षले मंगलबार आ–आफ्नै ढंगले समानान्तररूपमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले आधिकारिक निर्णय नै गरेर दिउँसो १ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने एकजना अध्यक्ष (त्याे पनि कारबाहीमा परिसकेका) खड्ग ओलीले त्यसलाई ‘क्रस’ गर्दै व्यक्तिगत तवरमा बिहान ९ बजे नै ‘केन्द्रीय कमिटी’ को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको जानकारी नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले सञ्चार माध्यमहरूलाई दिएका छन् । आइतबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरी सो प्रस्ताव अनुमोदनका लागि मंगलबार १ बजे बस्ने केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको थियो । नेकपाले भने ओलीमाथि कारबाही भैसकेको आधिकारिक जानकारी सोमबारै निर्वाचन आयोगलाई समेत दिइसकेको छ ।

एउटै केन्द्रीय समितिको बैठक एकै दिन दुई पक्षले छुट्टाछुट्टै समय र बेग्लाबेग्लै स्थानमा आह्वान गरेकाले मंगलबार नै नेकपा औपचारिकरूपले विभाजित भएको घोषणा हुन पुग्ने आँकलन गरिएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले मंगलबार विज्ञप्ति जारी गर्दै ओलीको कदमबाट पार्टी विभाजित हुने भ्रममा नपर्न र फुट्ने चिन्ता नगर्न सबैमा अपिल गरेका छन् । ओलीले भने नेकपा विभाजन हुने नभई ‘एकता भंग हुने’ र पूर्ववत् एमाले यथावत ब्युँतने दावी गर्दै आएका छन् ।

हालसम्म दुवै पक्षमा नखुली ओलीका हरेक कदमलाई सघाउँदै आएका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र पार्टीभित्रका उनी समर्थकहरू समेत सोमबारदेखि ओली पक्षबाट अलग्गिएर बहुमत पक्षमै समाहित हुने निर्णयमा पुगिसकेका छन् । ओलीले सोमबार बोलाएको गुटभेलामा बादल सहभागी भएनन्, बरू आफू निकटस्थ नेताहरूको बैठक राखेर परामर्श लिएलगत्तै प्रचण्डसँग बैठक गरे ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उनीहरूका देशभर क्रियाशील नेता–कार्यकर्ता र समर्थकहरूले ओलीलाई कारबाही गर्ने निर्णयको स्वागत गरिसकेका छन् । यो स्थितिमा ओलीले दावी गरेजस्तो ‘एकता भंग हुने’ र ‘पूर्ववत् एमाले ब्युँतने’ कुनै सम्भावना देखिँदैन । बरु नेकपाबाट ओली गुट मात्रै अलग्गिएर बाहिरिने स्पष्टै देखिएको छ ।

बरू सत्ताका अनेकौं निकाय, नियुक्ति र पार्टीमा ‘कोटाका पद’ पाएकै कारण हालसम्म ओली निकट देखिएका थुप्रै नेता–कार्यकताहरूले समेत नेकपाबाट बाहिरिने सिलसिलामा ओली गुटलाई साथ नदिने अवस्था बनेको छ । सोमबार बिहान बालुवाटारमा बोलाइएको ओलीगुटको भेलामा निम्त्याइएका थुप्रै ‘निवर्तमान’ सांसद र नेताहरू त्यहाँ अनुपस्थित रहेको देख्दा ओली र उनको गुटका नेताहरू आत्तिन पुगेको बताइन्छ ।

सो पार्टीको केन्द्रीय सचिवालयदेखि स्थानीय तहसम्म करिव ७० प्रतिशतभन्दा ठूलो हिस्सा प्रचण्ड–नेपाल नेतृत्वको बहुमत पक्षमा ध्रुवीकृत भैसकेको देखिएकाले ओली र उनी समर्थकहरू गरी करिव २० देखि २५ प्रतिशत हिस्सा नेकपाबाट अलग भई बेग्लै पार्टी बन्न पुग्ने देखिएको छ ।

यस्ताे छ प्रचण्डकाे विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर