newskoseli.Com

नेकपा केन्द्रीय कमिटी बैठकका ‘भित्री’ कुरा : ओलीको ठाउँमा नेपाल अध्यक्ष, यस्ता छन् ९ बुँदे कार्यसूची

सत्ताधारी नेकपा केन्द्रीय कमिटीको बैठक राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सम्पन्न भएको छ । मंगलबार सुरू भएको बैठक बिहीबार पनि चलेर मात्र समापन हुने जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । पार्टी विभाजनको औपचारिकता ठानिएको यस बैठकले एक अध्यक्ष खड्ग ओलीलाई कारबाही गरेर पार्टीबाट निष्काशन गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

ओली पक्षको ‘उपद्रो’ !

केन्द्रीय समितिको बैठककै नाममा मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि प्रधानमन्त्री ओलीले बैठक राखे । स्थायी कमिटीको बैठकले आइतबारै कारबाही गरिसकेका ओलीको अध्यक्षतामा बसेको सो बैठकमा महासचिव विष्णु पौडेलसहित करिव सवा एक सय सदस्य उपस्थित भए । ४४७ सदस्यीय केन्द्रीय कमिटीमा यतिबेला ४४१ सदस्य बहाल रहेको बताइन्छ ।

लगभग २५ प्रतिशत्र मात्रै केन्द्रीय सदस्यको उपस्थितिमा भएको सोही बैठक नै ‘वैधानिक’ र ‘आधिकारिक’ भएको दावी ओली पक्षले गरेको छ । ओली पक्षले यसै बैठकबाट नयाँ ५५६ जनालाई थपेर केन्द्रीय समितिलाई ११९९ सदस्यीय बनाइएको दावी गरेको छ । मौजुदा ४४७ मा नयाँ ५५६ जप्दा १००३ स्थान पूर्ति भएको र बाँकी १९६ सदस्य पछि थपिने निर्णय भएको ओली पक्षका केन्द्रीय सदस्य सूर्य थापाले जनाएका छन् । सोही बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई नियुक्ति गरेको समेत उनले जनाएका छन् ।

एक त स्थायी कमिटीले ३ दिनअघि नै कारबाही गरेर अध्यक्षबाट हटाइसकेका ओलीले बोलाएको, त्यसमाथि न्यूनतम गणपूरक संख्याकै अभावमा २०–२५ प्रतिशतजति मात्रै केन्द्रीय सदस्य सहभागी भएको ओली पक्षको ‘बैठक’, बैठक नभएर ‘नौटंकी’ र ‘ओलीको उपद्रो’ मात्रै भएको नेकपाका एक स्थायी कमिटी सदस्यले न्युजकोसेलीलाई बताए ।

दुई बैठक कुन ‘वैध’, कुन ‘अवैध’ ?

यो बैठकमा महासचिव उपस्थित नभए तापनि आइतबार (५ पुसमा) सम्पन्न स्थायी कमिटीको बैठकले नै केन्द्रीय कमिटीको यस बैठकको मिति, समय, स्थान र एजेन्डा तय गरिसकेको अनि केन्द्रीय कमिटीका दुई तिहाइभन्दा बढी सदस्यहरुको सहभागिता रहेकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनु बेइमानीको पराकाष्ठा मात्रै भएको उनले बताए ।

‘न दुई अध्यक्षबीच सल्लाह न त सचिवालयको निर्णय न स्थायी कमिटीको निर्णय– कारबाहीमा परिसकेका पूर्वअध्यक्ष ओलीले एकल निर्णयबाट अघिल्लो दिनको उर्दीका भरमा जम्मा पारेका सय–सवासय मान्छेको भेलालाई बैठक दावी गर्ने ओलीजीको नौटंकी अघिपछिकै ठट्यौली झैं हास्यास्पद छ,’ ती नेताले भने– ‘एक चौथाई सदस्यको अकस्मात जमघट वैधानिक बैठक हुने अनि ७५ प्रतिशत नेताहरुको विधिसम्मत, पूर्वनिर्धारित, विधानसम्मत र व्यवस्थित बैठकचाहिँ अवैध हुने उहाँहरुको प्रचारबाजी जगत् हँसाउने उटपट्याङ मात्रै हो ।’

उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली तथा प्रचण्ड–नेपाल दुवै पक्षले बोलाएका बैठकमा सहभागी गएनन् । पूर्वमाओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा भने ओली पक्षको बैठकमा सहभागी भए, प्रचण्ड–नेपालसहित बहुमत पक्षले सञ्चालन गरेको बैठकमा गएनन् ।

बैठक हलभित्र के–के हुँदैछ ?

‘नौबुँदे कार्यसूची रहेको बैठकमा एकीकृत नेकपाका ४४५ मध्ये करिव ३१५ जना केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ । अध्यक्ष क. प्रचण्डको अध्यक्षता, क. नारायणकाजी श्रेष्ठको सञ्चालन, वरिष्ठ नेताहरु क. झलनाथ खनाल र क. माधवकुमार नेपालको उपस्थितिमा बसिरहेको आजको बैठकमा क. बादल र क. वामदेवको भने उपस्थिति छैन,’ बैठकका एक सहभागी केन्द्रीय सदस्य युवराज चौलागाईंले बैठकबीचमै सामाजि सञ्जालमा लेखेका छन्– ‘बैठक पर्सि ९ गते समापन हुने अपेक्षा गरिएको छ, यस बैठकबाट संसद विघटनको निर्णयलाई खारेज गर्ने, अनुशासनहीन र अप्रतिबद्ध व्यक्तिहरुलाई अनुशासनको कारबाही गर्ने, नयाँ नेतृत्व टिमबारे निर्णय गर्ने एवं आगामी कार्ययोजना र कार्यक्रम तय गर्ने अपेक्षा छ । नेकपाबाट केही व्यक्तिहरु चोइटिने अन्तिम अबस्थामा भए पनि, नेकपाको नाममा प्राप्त जनमतलाई केपी ओलीको नेतृत्वको सरकारले घोर अपमान गरे तापनि नेकपा निरन्तर आफ्नो लक्ष्यमा अघि बढिरहने छ ।’

अर्का नेता सुबोध सिर्पालीले बैठक हलभित्रैबाट सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजधानीको कार्की ब्यांक्वेटमा चलिरहेको बैठकका एजेन्डा यसप्रकार रहेका छन्–
– आन्तरिक समस्या समाधानबारे प्रस्ताव
– आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
– अनुशासनको कारबाही
– अनुशासनको कारबाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वका तर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
– संगठनात्मक कार्ययोजना
– कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु’

वामदेव र बादलले के गर्छन् अब ?

पार्टीको अर्को बैठकमा वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ समेत सहभागी हुने स्रोतहरुले जनाएका छन् । गृहमन्त्रीको ‘मालदार’ आसनमा रहेका अनि कुनै पनि राजनीतिक घटनाक्रमबारे स्पष्ट दृष्टिकोण बनाउने क्षमता नभएका बादल ओलीको उक्साहट, आश्वासन र लालचमा नराम्ररी फसेको बताइन्छ । उनी निकट मानिएका ३५ केन्द्रीय सदस्यमध्ये ३३ जना प्रचण्ड–माधव पक्षमा खुलेर लागिसकेका र बादल अब त्यतै आएर नखुले सधैंका निम्ति आफूहरुको साथ र सहकार्य सिद्धिने चेतावनी दिइसकेकाले उनी नराम्ररी रन्थनिइरहेका छन् ।

नयाँ नेतृत्व, नयाँ परिवेश र पुराना सबै साथी–सहयोगी–शुभेच्छुकहरुका साथ टुटेका बेला ओली खेमाले पनि बादललाई ‘बाल मतलब’ नदिने सुनिश्चित छ । घर न घाटको बनेर राजजनीतिबाटै सन्यास लिनुपर्ने चिन्तामा परेका बादल अर्को बैठकमा सहभागी हुने निष्कर्षमा पुगिसकेको उनी निकट स्रोतले बताएको छ ।

वामदेव गौतममा भने ‘जसरी पनि प्रधानमन्त्री बन्ने’ भूत सवार भएको र प्रचण्ड तथा माधव नेपालले अहिल्यै ‘चुनावपछिको प्रधानमन्त्री तपाईं नै हो’ भनेर आन्तरिक तथा सार्वजनिकरुपले समेत प्रतिबद्धता जनाइदिनुपर्ने जिद्दी गौतमले गरिरहेको माधव नेपाल निकट स्रोतको भनाइ छ । खड्ग ओलीले पटक–पटक ‘मभन्दा पछिको प्रधानमन्त्री वामदेव नै हो’ भन्दै आएकाले ‘फुटको साक्षी बन्ने बैठक र भेलामा जान्नँ’ भन्दै बाहिर–बाहिर साखुल्ले टोपिलए पनि भित्र–भित्रै भने दुवै खेमाबाट ‘भावी प्रधानमन्त्रीको सुनिश्चितता’ खोजेर बार्गेनिङ गरिरहेकै कारण उनी दुवैतिरका ‘निर्णायक बैठक’ मा अनुपस्थित रहेको स्रोतको दावी छ ।

यसैबीच मंगलबार बिहान बालुवाटारमा केन्द्रीय समितिका चौथाई सदस्य पनि उपस्थित नभएको देखेर जिल्लिएका वामदेव अर्को बैठकदेखि भने प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी हुने निष्कर्षमा पुगिसकेको बताइन्छ ।

र, औपचारिक विभाजन

बिहान खड्ग ओलीले ‘म कसैमाथि कारबाही पनि गर्दिनँ र पार्टी पनि फुटाउँदिनँ’ भन्दै भाषण त गरे तर एकलौटी ढंगले अनधिकृत बैठक बोलाउने, प्रवक्ता हटाउने, केन्द्रीय समिति विस्तार गर्ने र लगत्तै त्यससम्बन्धी पत्र निर्वाचनमा पठाउने काम गरेर अरूले भन्दा पहिल्यै पार्टी फुटाइदिए ।

त्यसैगरी दिउँसो १ बजे केन्द्रीय समितिको बैठक सुरू हुनुअघि बसेको स्थायी कमिटीबाट प्रचण्ड–नेपाल पक्षले पनि ओलीलाई पार्टीबाटै हटाउने, माधव नेपाललाई अर्को अध्यक्ष बनाउने, ओली सरकारले गरेका पछिल्ला सम्पूर्ण निर्णय र कदमहरु उल्ट्याउने गरी राजनीतिक एवं कानुनी र संघर्षका योजना अघि सार्ने प्रस्ताव तय थियाे । र, प्रस्तावबारे छलफल गरी केन्द्रीय कमिटीबाट अधिकांश विषय अनुमोदन भैसकेका छन् भने बाँकी विषय बिहीबार बस्ने बैठकबाट टुंग्याउने तयारी छ ।

महासचिव विष्णु पौडेल समेत ओलीको ‘मतियार’ बनेर जिम्मेवारी पूरा नगरेको भन्दै यही बैठकबाट नयाँ महासचिव समेत चयन गरिनुपर्ने दबाव प्रचण्ड–माधव पक्षभित्र बढिरहेको छ । सम्भववतः बैठक समापनसम्म पुग्दा नयाँ महासचिवबारे समेत निर्णय हुन सक्ने एक नेताले बताए । यी कदमहरुसहित केन्द्रीय कमिटीकाे याे बैठक समापनसँगै वस्तुतः सत्ताधारी नेकपा औपचारिकरुपमै दुई दलका रुपमा विभाजित भैसक्ने निश्चित देखिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर