newskoseli.Com

एकाएक बदलिए देउवा : कसरी र किन ?

कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री खड्ग ओलीप्रति ‘आक्रामक’ हुन थालेका छन् । बिहीबार पर्वतमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा देउवाले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको समेत कडा आलोचना गरे ।

प्रतिनिधिसभा विघटनको रिट अदालतमा विचाराधीन रहेकै बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित पार्नेगरी निर्देशन दिन थालेको भन्दै देउवाले आक्रोश पोखे । प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र लोकतन्त्रविपरीत भन्दै आए पनि देउवा यसअघि प्रधानमन्त्रीप्रति यति आक्रामक थिएनन्, बरु प्रधानमन्त्री ओलीसँग साँठगाँठ गरेर असंवैधानिक कदमलाई साथ दिएको भन्दै पार्टीभित्रै उनको आलोचना भइरहेको थियो ।

देउवाले शुक्रबार निकालेको विज्ञप्ति समेत अहिले चर्चामा छ । कांग्रेसले शनिबार देशभर गर्न लागेको पालिकास्तरको विरोध प्रदर्शनमा सहभागी बन्न अपिल गर्दै देउवाले विज्ञप्ति निकालेका थिए । यसअघि अक्सर कार्यक्रम सकिएपछि धन्यवाद र बधाई दिन उनले विज्ञप्ति निकाल्थे । यसपटक विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन अघिल्लो दिनमै विज्ञप्ति निकालेर देउवाले सबैमा अपिल गरेका हुन् ।

विज्ञप्तिमा प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको देउवाले स्मरण गराएका छन् । ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्– ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

यसअघि निर्वाचनको पक्षमा प्रस्तुति दिँदै आएका देउवाले प्रधानमन्त्री ओलीप्रति आक्रामक बन्नु र विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन खोज्नुले कतै उनको ‘ट्युनिङ’ मा बदलाव आएको त होइन भन्ने प्रश्न अहिले चर्चामा छ । ‘पार्टीभित्र र बाहिर प्रधानमन्त्री ओलीसँग भित्रीरूपमा साँठगाँठ गरेको सन्देश व्यापक बनेपछि त्यसलाई पखाल्नकै निम्ति सभापतिजीले ओलीप्रति आक्रामक प्रस्तुति दिनुभएको हो,’ उनीनिकट एक नेताले भने– ‘तर उहाँ प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा निर्वाचनकै पक्षमा कायम हुनुहुन्छ ।’

कतिपय नेताहरूले भने नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बुधबार भएको गोप्य भेटपछि देउवाको प्रस्तुतिमा बदलाव आएको अनुमान लगाएका छन् । देउवाको भित्री मनसाय बुझेर उक्त भेटमा दाहाल र नेपालले ‘नेकपा मिले अब तपाईंकै कारणले मिल्छ’ भनेका थिए । उनीहरूले प्रधानमन्त्रीको आकर्षण समेत देउवालाई दिएको खबर कुलचन्द्र न्यौपानेको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर