newskoseli.Com

‘धरातल छाडेर नयाँ साथी खोज्दा पुराना गुमाएँ, जेल जान र मर्न तयार भएर ओलीविरुद्ध १९ पाने’ : फेरि बदलिए प्रचण्ड ?

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जेल जान वा मर्न तयार हुने तर ओली प्रवृत्तिसँग सम्झौता नगर्ने निष्कर्षमा पुगेर नै उनीविरूद्धको चर्चित १९ पाने राजनीतिक प्रस्ताव लेखेको बताएका छन् ।

राजधानीको कोटेश्वर, पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । ‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी, अब तीसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुनु हो भन्ने खतरा देखिसकेपछि जेल जान पनि तयार, मर्न पनि तयार हुन्छु तर प्रहारचाहिँ गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार पारेको हुँ’– प्रचण्डले भने ।

ओली प्रवृत्तिविरुद्ध युद्धमा जाने भनेर आफूले हिंसाको कुरा नगरेको उनले बताए । अबको युद्ध शान्तिपूर्ण हुने भन्दै अहिले पनि युद्ध चलिररहेको प्रचण्डले बताए । संसद विघटनविरुद्ध अभियान चलाएर आफूहरुले ब्यटल जितेको तर युद्ध जित्न भने अझै बाँकी नै रहेको उनले बताए ।

‘हामीले संसद् विघटनका विरुद्ध, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षड्यन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं तर हामीले ‘वार’ चाहिँ जितेका छैनौं,’ प्रचण्डले भने– ‘अझै पनि ठूलठूला षडयन्त्र भइराख्या छन्, तपाईं–हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भई नै राखेको छ त्यसैले सबै सजग भएर, आफ्नै खुट्टामा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

‘धरातल छाड्दा कमजोर भएँ, नयाँ खोज्दा पुराना गुमाएँ’

आफ्नो धरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । आफ्नो धरातल र साथीहरु छुट्दा आफूहरु कमजोर भएको उनको भनाइ छ ।

‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो,’ प्रचण्डले अगाडि भने– ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएका हौं ।’

यसअघि माओवादी आन्दोलनमा सँगसँगै लडेर पछिल्लो कालखण्डमा अलग भएका मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ तथा डा. बाबुराम भट्टराईप्रति संकेत गर्दै प्रचण्डले भने– ‘अब आफ्नै खुट्टामा उभिने, धर्तीसँग जोडिने र पुराना साथीहरुलाई एकताबद्ध पार्ने प्रयासमा अघि बढ्छौं, क्रान्तिकारी साथीहरुसँग भर पर्नेछौं ।’

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्ष भएँ; उमेरले कति साथ दिन्छ, छोडिदिनुपर्छ पनि भन्छन् तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए; म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु, म छोड्नेवाला छैन, लड्नेवाला छु’– उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर