newskoseli.Com

निषेधाज्ञा फेरि थपियो ७ दिन : सार्वजनिक सवारी नचल्ने, निजीलाई जोर–बिजोर, बारअनुसार पसल खुल्ने (कुन बार के–के खुल्ने ?)

१६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै एक साता लम्ब्याएर असार ११ गतेसम्म तन्क्याइएको छ । अब भने केही सेवा तथा काराेबारहरु अलि खुकुलो बनाइएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ । ट्याक्सी भने जोर–विजोर प्रणालीमा चल्नेछन् ।

त्यस्तै बारअनुसार पसल पनि खोल्न पाइनेछ । ‘जनजीवनलाई क्रमशः सहज बनाउँदै लैजानुपर्ने र संक्रमणदर पनि घट्दै गएकाले यो निर्णय गरिएको हो,’ प्रजिअ पराजुलीले भने–‘जोखिम सकिएको र निषेधाज्ञा खुलेको चाहिँ होइन, नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

आर्थिक गतिविधिलाई सहज बनाउने गरी निर्णय गरिएको प्रशासनको भनाइ छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा बेच्ने खोल्न पाइनेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल, फेन्सी, कस्मेटिक्स, गिफ्ट र टेलरिङका पसल खोल्न पाइनेछ ।

बारका आधारमा खुल्ने यी पसलहरू पनि दिनभर नभई बिहान ११ देखि अपराह्न ४ बजेसम्म मात्र खोल्न पाइनेछ । खाद्यान्न, फलफूल र तरकारी पसलहरु खुल्ने समय पनि यसअघि अनुसार नै यथावत कायम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर