newskoseli.Com

निष्कर्षतर्फ ओली समूह : ‘तटस्थ’ लाई फकाउने, ‘देउवाका मतदाता’ लाई के ‘कारबाही’ गर्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतबार साँझ प्रतिनिधिसभामा भएको मतविभाजनको क्रममा पक्ष–विपक्ष कतै पनि मत नदिई ‘तटस्थ’ बसेका एमाले सांसद्हरूलाई ‘फकाउने’ रणनीति ओली समूहले लिएको छ । शेरबहादुर देउवालाई मत नै दिएका २२ सांसदहरूलाई भने २४ घन्टाभित्र जवाफ माग्दै ‘स्पष्टीकरण’ सोधिएको छ ।

देउवालाई मत दिएका र तटस्थ बसेका ३३ सांसदले वास्तवमा ओली समूहको निर्णय र निर्देशनलाई चुनौती दिँदै अवज्ञा नै गरेका हुन् । एमालेको बहुमत पक्ष अर्थात् ओली समूहको दुई–दुई पटक बसेको स्थायी कमिटी र संसदीय दल समेतको बैठकले देउवाका विरुद्ध मतदान गर्ने निर्णय लिँदै सबै सांसदलाई सोहीअनुरुपको निर्देशन दिएको थियो ।

तर, एमाले ओली समूहको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्णय र निर्देशनको अवज्ञा गर्ने सबैलाई एकै किसिमको ‘कारबाही’ नगर्ने निर्णय लियो । देउवाका पक्षमा मतदान गर्नेहरूलाई २४ घन्टे ‘स्पष्टीकरण’ सोधियो र सोको जवाफ हेरेर मंगलबार फेरि बस्ने केन्द्रीय कमिटीको बैठकबाट ‘कारबाही’ गर्ने निर्णय लिइयो । तर, पार्टी निर्देशनको अवज्ञा गरे तापनि ‘तटस्थ’ रहँदै कतै पनि मतदान नगरेका ११ सांसदहरूप्रति भने ‘मौन रहने’ नीति लिइयो ।

संविधानको धारा ७६ (५) अनुरूप जो–कसैलाई मतदान गर्न सबै सांसद् स्वतन्त्र भएको र त्यसो गरेवापत कसैमाथि ‘ह्वीप’ लगाउन वा ‘कारबाही गर्न’ नपाइने सर्वोच्च अदालतको २८ असारको निर्णयअनुरूप देउवालाई मतदान गरेका २२ सांसदमाथि समेत कारबाही गर्न नमिल्ने आवाज ओली समूहकै कतिपय केन्द्रीय सदस्यहरूले उठाए । तर, अध्यक्ष ओली र केही ‘माथिल्ला’ नेताहरूले भने देउवालाई मतदान गरेका २२ सांसद् अब एमालेमा रहन नसक्ने जिद्दी गरे ।

‘तटस्थ’ बसेकाहरूलाई कसरी ‘फकाएर’ आफ्नो कित्तामा तान्ने अनि देउवाका पक्षमा मतदान गरेका २२ जनामाथि के–कस्तो ‘कारबाही’ गर्ने भन्नेबारे गृहकार्य गर्न र समूहभित्र यथासम्भव साझा धारणा बनाउन सोमबार अपराह्न ओलीपक्षीय स्थायी कमिटीका सदस्यहरूको अनौपचारिक बैठक बस्यो । केन्द्रीय कमिटीको बैठकपछि ओलीनिवास बालकोटमा उनीहरूको अनौपचारिक बैठक बसेको हो ।

ओली समूहको मंगलबार बस्ने केन्द्रीय कमिटीको बैठकले नेपाल पक्षबारे के–कस्तो निर्णय लिन्छ, त्यसपछि भने एमाले एक रहने या विभाजित हुने भन्नेबारे स्पष्ट हुने देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर