newskoseli.Com

ओलीले गरिदिए फुटको घोषणा : ‘माधवहरुका लागि पार्टीमा ठाउँ छैन’

नेकपा एमालेका अध्यक्ष एवं अपदस्थ प्रधानमन्त्री खड्ग ओलीले शनिबार घुमाउरो भाषामा एमाले विभाजनको घोषणा गरदिएका छन् । पटक–पटक विभाजनको डिलमा पुग्दै र विभिन्न तहका थुप्रै नेताहरूका अनेकौं प्रयत्नका कारण एकताको आशा पलाउँदै र त्यस्तो आशा फेरि मर्दै आइरहेका बेला एमाले विवाद निर्णायक मोडमा पुगेको छ । र, ठीक यही बेला एमालेलाई कुनै हालतमा पनि एकढिक्का नराख्ने आशय प्रकट गर्दै भिन्न भाषामा ओलीले एमाले फुटको घोषणा गरिदिएका हुन् ।

आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर वरिष्ठ नेता माधवकुमार नेपाल वा उनले समर्थन गर्ने कुनै नेतालाई बराबरी हैसियत र अधिकारका अर्को अध्यक्ष बनाएर पार्टीभित्रको विवाद समाधान गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको प्रचार ओली समूहबाटै तीव्र पारिएका बेला अध्यक्ष ओलीले ‘अब माधव नेपालहरूलाई पार्टीभित्र कुनै स्थान छैन’ भन्ने खुलेआम घोषणा गरेर एमाले विभाजनको ढोका खोलिदिएका छन् । ओली पक्षीय काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार बोल्दै ओलीले त्यस्तो घोषणा गरेका हुन् ।

‘आफूले नेतृत्व गरिरहेको सरकार ढालिदिएर विकास र समृद्धिको सपनामा कुठाराघात गरेको’ आरोप लगाउँदै ओलीले त्यसो गर्न भूमिका खेल्ने र फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई अब एमालेमा ठाउँ नभएको बताए । उसो त ओलीले लादेको प्रतिगमनका विरोधी वरिष्ठ नेता नेपाल र उनी पक्षधर विभिन्न नेताहरूलाई ओलीले यसअघि पनि पटक–पटक यस्ता धम्की दिँदै आइरहेकै थिए । प्रतिगमनविरोधी नेताहरुलाई ओलीले धम्की मात्रै दिएका थिएनन्, पटक–पटक ‘स्पष्टीकरण’ सोध्ने, ‘कारबाही’ गर्ने र ‘निष्काशन’ गर्नेसम्मका हर्कत गर्दै आएकै थिए ।

तर, ओलीको अराजकता र बारम्बारका उपद्रोबाट आजित भएका सुवास नेम्बाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङलगायतका ओली पक्षकै केही नेताहरु समेतको पहल अनि ‘जसरी पनि एमाले एकता जोगाउने’ भन्दै नेपाल पक्षभित्रै समेत ‘अविश्वसनीय पात्र’ को आरोप खेपेर एकता प्रयासमा जुटेका घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरुको प्रयासस्वरूप ओली–नेपालबीचको तिक्तता मत्थर हुँदै गएको थियो । र, यसै सिलसिलामा असार अन्तिममा (२७ गते मध्यरातमा) द्विपक्षीय कार्यदलबीच जुटेको दसबुँदे सहमति र सरकारबाट अपदस्थ भएपछि तिल्मिलाएका ओलीको पराजित मनोदशाबीच एमालेमा एकताको झिनो सम्भावना देखापरेको थियो ।

तर, कहिले ‘गद्धार’ घोषणा गर्ने त कहिले ‘आममाफी’ को राजश्री फर्मान जारी गर्ने र हुँदाहुँदा अब त ‘देशद्रोही’ र ‘अपराधी’ सम्मको संज्ञा दिने ओलीको रवैयाले एमाले एकताको सम्भावना धुलिसात हुँदै आएको छ । र, अब भने ओली–नेपाल दुवै समूहले ‘अन्योलतामा धेरै दिन रहन नसक्ने र छिटै वारपार हुने’ बताउन थालेका छन् । ओलीको अराजकता एकातिर उत्कर्षतिर पुग्दैछ भने माधव नेपालपक्षीय कतिपय सांसद् र नेताहरूले आफूहरू छिट्टै अलग पार्टीको गठनमा लाग्ने र केही मन्त्रालय लिएर देउवा सरकारमा सहभागी हुने अभिव्यक्ति दिन थालेका छन् ।

ठीक यहीबेला ओलीले ‘बाटो बिराएका एमाले नेताहरू, जो माधवकुमार नेपालको पक्षमा रहेका छन्, उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको’ बताएका छन् । ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोहीहरूलाई कुनै ठाउँ छैन अब एमालेमा’– ओलीले शनिबार भने ।

‘जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गरेर भोट हाल्ने, आफ्नो पार्टीको अध्यक्षले, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर त्यो सरकार ढाल्ने काम गरेकाे छ,’ ओलीले कटाक्ष गरे– ‘यसरी पार्टीको सरकारविरुद्ध कुठाराघात भएको छ र समृद्धिकाे अभियानमा गम्भीर रूपमा ब्रेक लागेको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर