newskoseli.Com

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरौं, महाधिवेशनबाट नेता नछानौं’ : वामदेवको बेग्लै प्रस्ताव

नेकपा एमाले ओली समूहको बैठकमा सो पार्टीका उपाध्यक्ष वामदेव गौतमले संविधान र पार्टीको ‘सनातन’ मान्यताभन्दा बिल्कुल भिन्न तीन प्रस्ताव प्रस्तुत गरेका छन् । शुक्रबार बसेको उक्त समूहको ‘विधान महाधिवेशन कार्यदल’ को बैठकमा उपाध्यक्ष गौतमले तीनबुँदे लिखित प्रस्ताव पेस गरेका हुन् ।

संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने वामदेवको पहिलो प्रस्ताव छ । त्यसैगरी, व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्ने उनको धारणा छ ।

त्यस्तै, पार्टी कार्यक्रमका सम्बन्धमा अहिलेका पुँजीवादी जनवाद अर्थात् जनताको बहुदलीय जनवाद (जबज) को ठाउँमा ‘बहुदलीय समाजवाद’ नेपाली जनताको समृद्धिको कार्यक्रम हुने वामदेवको दोस्रो प्रस्ताव छ ।

‘पार्टीमा गुटबन्दी सिर्जना गर्ने अभ्यास’ का रुपमा बदनाम भइसकेको ‘महाधिवेशनकै हलबाट पार्टीका पदाधिकारी चुन्ने प्रणाली’ को ठाउँमा ‘केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने’ प्रणाली लागू गरिनुपर्ने वामदेवको तेस्रो प्रस्ताव छ ।

यसरी नेता गौतमले मुलुकको संविधानमै आधारभूत परिवर्तन गर्नेगरी संशोधन गर्नुका साथै पार्टीको ढाँचामा समेत विकल्प पेस गरेका छन् । मुलुकको कार्यकारी प्रमुख एवं राष्ट्रप्रमुखदेखि पार्टीप्रमुखसम्मको संरचनागत परिवर्तन गर्नुपर्ने धारणा उनले अघि सारेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर