newskoseli.Com

ओलीलाई वामदेवले बैठकमै थर्काए : ‘मनपरी बोल्न र गर्न पाइन्छ ? पाइने भए विधानमै लेखौं’

सोमबार ललितपुरमा बसेको नेकपा (एमाले) को स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले उपस्थित सबै नेताहरूलाई आश्चर्यचकित तुल्याए । विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्न बसेको केन्द्रीय समितिअघिको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम अध्यक्ष खड्ग ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । त्यसलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकमा सहभागी नै नभई उपाध्यक्ष गौतम घरतिर फर्के ।

च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमै बसेको स्थायी कमिटीको बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा बोल्ने क्रममा उपाध्यक्ष गौतमले ओलीमाथि व्यङ्ग्य कस्दै धारणा प्रस्तुत गरे । उपाध्यक्ष गौतमको प्रस्तुति केहीअघि अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित थियो । यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयविरूद्ध सोमबारको बैठकमा वामदेव खनिए ।

विधान संशोधन प्रस्तावमा समाविष्ट ‘अध्यक्षका यी अधिकारहरू’ शीर्षकअन्तर्गत अध्यक्षलाई केही अधिकार थप्नुपर्ने गौतमले बताए । विधानको उक्त शीर्षकअन्तर्गत ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तर्गत पनि केही बुँदाहरु थपेर ‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ भनी लेख्नुपर्ने प्रस्ताव गौतमले राखे ।

‘कम्युनिस्ट पार्टीमा माथि उल्लेखित शब्दावली कुनै पनि देशका कुनै पनि कम्युनिस्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन’ भन्दै गौतमले भने– ‘अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो; अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो, बोल्नुहुँदैन भने किन बोल्नुभयो श्र यस्तो मनपरी गर्न पाइँदैन ।’

पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुने बताउँदै उपाध्यक्ष गौतमले प्रश्न गरे– ‘अध्यक्षले नै गल्ती गर्दा कारबाही हुने कि नहुने ?’ वामदेवले कडिकडाउका साथ यसरी धारणा राख्दा स्थायी कमिटीको बैठकहलमा अचम्मको सन्नाटा छायो । स्थायी कमिटीको बैठक सकिएर केन्द्रीय कमिटीको बैठक सुरु हुँदा भने वामदेव बैठकमै बसेनन् र घरतिर लागे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर