newskoseli.Com

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त : ओली समूह २ प्रदेशमा सीमित

चार महिनाभन्दा लामो खिचातानीपछि अन्ततः माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभाका ८० सदस्य बहाल रहेको उक्त प्रदेशमा ४२ जनाको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार अपराह्न केसीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

मुलुकका ७ मध्ये चार प्रदेशमा मुख्यमन्त्री रहेका ओली समूहका नेताहरूमध्ये २ जना अपदस्थ भएसँगै अब बाँकी २ प्रदेश सरकारमा मात्रै ओली समूह सीमित हुन पुगेको छ । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ अपदस्थ भएपछि कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो भने अहिले शंकर पोखरेल अपदस्थ भएर माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार बनेको हो । अपदस्थ दुवै मुख्यमन्त्री ओली समूहका हुन् ।

कांग्रेस, जनमोर्चा र जसपा समेतको समर्थनमा प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ४ दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै बिहीबारै प्रदेश प्रमुखसमक्ष दावेदारी प्रस्तुत गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

ओली समूहका नेता एवं निवर्तमान मुख्यमन्त्री शंकर पोखेरलले चार महिनाअघिदेखि नै बहुमत गुमाउँदै आएका थिए । बुधबार प्रदेशसभाको विशेष अधिवेशनमा बहुमतबाट अविश्वास प्रस्ताव पारित गर्ने तयारी भएपछि उनले सदन छलेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपराह्न ४ बजे प्रदेश प्रमुखले शपथग्रहण गराएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर