पार्टी र आफू नेतृत्वको सरकारलाई एकलौटी मौजा बनाएका एमाले अध्यक्ष खड्ग ओलीविरूद्ध लामो समयसम्म अन्तर्संघर्ष गरेर निर्णायक घडीमा ‘विद्रोही’ नेतालाई ‘धोका’ दिँदै अन्ततः ओलीकै वैशाखीमा परिणत भएका ९ नेता निष्प्रभावी सावित भएका छन् । उनीहरूको ‘प्रभावमा’ रहेका भनिएका र प्रदेशसभाका सांसद् एवं विगतमा समानान्तर कमिटीमा रहेका पार्टी कमिटीका प्रदेश, जिल्ला र स्थानीय तहका सबैजसो नेता–कार्यकर्ताले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गोलबन्द भएका छन् ।
मंगलबार मात्रै बागमती प्रदेशसभामा रहेका एमालेका ५६ मध्ये १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । निर्वाचन आयोगको कार्यालय पुगेर १२ सांसदले आफूहरू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् । प्रदेश सरकारमा सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालसहित राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
१०९ सदस्यीय वागमती प्रदेशसभामा सभामुखसहित एमालेका ५६ सांसद थिए । तीमध्ये १२ सांसद नयाँ दलमा सामेल भएसँगै प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएर प्रदेश सरकारमा बहुमत गुमाउन पुगेको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका २५ मध्येका १३ सांसदले मंगलबारै एमाले परित्याग गरेका छन् । उनीहरूले पनि एकीकृत समाजवादी पार्टीमा सामेल हुने गरी सनाखत गराएका हुन् । नयाँ पार्टीमा सामेल हुन निर्वाचन आयोगको कार्यालयमा पुगेका १३ सांसमध्ये ३ जनासँग आवश्यक कागजात नभएकाले सनाखत गर्न पाएनन् ।
सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घराज सोडारी र सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले कागजात नपुगेर सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने भएका छन् । सनाखत गराउनेहरूमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।
उक्त प्रदेशमा अब खड्ग ओली नेतृत्वको एमाले १२ सांसद् मात्रै बाँकी रहेका छन् । खनाल–नेपाल पक्षलाई अन्तिम घडीमा ‘धोका’ दिएर ओलीको रक्षाकवच बन्न पुगेका उपाध्यक्ष भीम रावलको ‘प्रभावक्षेत्र’ भनिएकै प्रदेशका बहुमत सांसद् नयाँ पार्टीमा लाग्नु र अल्पमत सांसद् मात्रै पुरानो पार्टीमा रहनुले ‘प्रभावशाली’ भनिएका नेताहरू निष्प्रभावी बन्न पुगेको पुष्टि भएको छ ।