कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो ।
जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताइन । ओमिक्रोन भेरियन्टले सङ्क्रमण १ जनाबाट १० जनामा सार्ने गर्दछ ।
सङ्क्रमणको पहिलो लहरले १ जनाबाट अर्को २ जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले १ जनाबाट ४ देखि ५ जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । उनको अनुसार अघिल्लो हप्ताको ४९ हजार ८ सय ७७ जनाको पिसिआर परीक्षणमा २ हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७ सय ५५ जनाको पिसिआर गरिएकोमा ८ हजार ३ सय ७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् ।
यसहप्ताको सङ्क्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गा¥हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।
१ हप्तामै १० हजार सङ्क्रमित
नेपालमा १ हप्तामा १० हजार सङ्क्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पुस २२ गते ५४०, पुस २३ गते ९६८, पुस २४ गते ९४४, पुुस २५ गते १ हजार १ सय ६७, पुस २६ गते १ हजार ४ सय ४६, पुस २७ गते २ हजार ४ सय ४४ तथा पुस २८ गते ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
खोपमा पनि वृद्धि
खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा. मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता २ प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा ४ प्रतिशतले वृद्धि भएको छ ।
लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार २ लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म २ तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई दु्रत बनाएका छन् ।
सङ्क्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट टेसिङमा परेका कम्तीमा ५ दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।