
सिस्नुपानीको कार्यक्रममा सहभागी हुन १९ वैशाखमा काठमाडौंबाट हेटौंडा पुगेका चर्चित हास्यकलाकार सुबोध गौतम बिरामी भएका छन् । स्वास्थ्यमा समस्या महसुस भएपछि कलाकार गौतम २० वैशाखमा चितवन पुगी पुष्पाञ्जली अस्पतालको आकस्मिक कक्ष हुँदै भर्ना भएर उपचार गराइरहेका छन् ।
अहिले भने आफ्नो स्वास्थ्यमा मनग्ये सुधार आएको कलाकार गौतमले न्युजकोसेलीलाई बताए । सुरुमा उनलाई युरिन ट्र्याक इन्फेक्सन (यूटीआई) भएको पाइयो । यूटीआई महिलामा भन्दा पुरुषमा बढी खतरनाक मानिन्छ ।
‘त्यसमाथि पस सेल १००% देखिएको छ, यो तुरुन्तै ०% मा आउँदैन,’ डा. भोजराज अधिकारीलाई उद्धृत गर्दै गौतमले भने– ‘सात दिन नियमितरुपले एन्टिबायोटिक लिएपछि सहज हुने कुरा हो यो ।’ किड्नीमा स–साना स्टोनहरु भएर युरिनमा केही अवरोध भए पनि ती धेरै असरदार र खतरनाकचाहिँ नभएको बताइएको छ ।
आफूलाई केही गाह्राे हुनेबित्तिकै पुष्पाञ्जली सम्झने गरेको गौतम बताउँछन् । ‘सुरुदेखि नै पुष्पाञ्जली जानुपर्ला जस्तो लागेको थियो, नभन्दै यहीँ आइपुगिएछ’– सुबोधले बताए । आधुनिक प्रविधिको विशेष प्रयोगशाला, पारिवारिक वातावरण र डाक्टरको सजिलो पहुँचले गर्दा यहाँ असाध्यै ढुक्क महसुस गरिरहेको उनको भनाइ छ ।