newskoseli.Com

ओम अस्पतालमा गर्भवतीको मृत्यु, लापरवाही गरेकाे परिवारकाे अाराेप

ओम अस्पतालमा गर्भवती महिलाको मृतु भएपछी तनाब सिर्जना भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीबाट ज्यान गएको भन्दै अस्पाताल घेराउ गरेका छन् ।

काठमाडौंको कपन बस्ने ७ महिनाकी गर्भवती सावित्री श्रेष्ठको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको थियो ।

पेट दुखेको बताएपछि उक्त अस्पताल पुगेकी आफ्नी भाउजुको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको मृतकका देवर रोजन श्रेष्ठले बताए । उनले भने, ‘अलि–अलि पेट दुख्यो भनेर उहाँ हिँडेरै अस्पताल आउनुभएको हो ।’

आइतवार बेलुकी ५ बजे अस्पताल पुगेकी उनको अवस्था राति ११ बजेसम्म ठिकै रहेको उनले बताए । ‘राति उहाँलाई गाह्रो भयो । अस्पतालमा डाक्टर थिएनन् । नर्सले डाक्टरलाई फोन गरेर  केही औषधि दिए,’ उनले भने, ‘बिहानसम्म डाक्टर आएनन् । यस्तो कहलिएको अस्पतालमा डाक्टर किन समयमा आएनन् ?’

बिहान अवस्था गम्भीर भएको बताउँदै आइसियुमा राखिएको र त्यसपछि बचाउन नसक्ने जानकारी गराएको आफन्तले बताए । नर्सले बिरामीको अवस्था गम्भीर भएको जानकारी गराएपनि डाक्टर नआइपुगेकाले उनको मृत्यु भएको आरोप आफन्तको छ ।

अस्पतालका चिकित्सकले  मष्तिष्कघातका कारण उनको अवस्था एक्कासी  गम्भीर  भएको जनाएको छ ।  ‘ब्लड प्रेसर बढेको रहेछ । त्यसको नियन्त्रणको प्रयास जारी थियो । एनोरिज्म फुटिसकेछ । जसका कारण बचाउन सकिएन,’ अस्पतालका सञ्चालक डा भोला रिजालले भने ।

मृतकलाई  कृत्रिम श्वासप्रश्वास दिएर ( भेन्टिलेटरमा )मा राखिएको छ । मृतकलाई भेन्टिलेटरबाट हटाउन आफन्तलाई गराउने मञ्जुरीनामा कारण अवस्था झन् तनावग्रस्त बनेको  छ ।

‘आफ्नो गल्ती स्वीकारेर सन्तानलाई पढाइदिने प्रस्ताव पनि गरिसकिएको छ,’ रोजन भन्छन्, ‘तर, आज आएर फेरि अवस्था चिन्ताजनक रहेको र केही तलमाथि भइहाले हाम्रो जिम्मेवारी हुने भनेर मञ्जुरीनामा गर्न लगाइयो ।

मृत्यु भइसकेपछि के को चिन्ताजनक ?’ यी बिचमा मृतक श्रेष्ठलाई ‘भेन्टिलेटरबाट झिक्दा घट्न सक्ने घटनाको दोष अस्पताल व्यवस्थापन, डाक्टर वा अरु कर्मचारीलाई दिने छैन’ भन्ने ब्योहोराको मञ्जुरीनामामा आफन्तलाई हस्ताक्षर गर्न लगाइएको बताइएको छ ।

आफ्नो लापरबाहीलाई लुकाउन मृत्यु भइसकेको मान्छेको अवस्थालाई चिन्ताजनक भनेर हस्ताक्षर गराउने षड्यन्त्र गरेको आफन्तको आरोप छ ।

अस्पताल प्रशासनले भने उक्त मञ्जुरीनामा आफूले नबनाएको दाबी गरेको छ ।

सहमतिका लागि बनाइएको ड्राफ्टमा मृतककी सन्तानलाई १० कक्षासम्म निःशुल्क पढाउने वा नर्स बन्न चाहे ओम अस्पतालले निःशुल्क पढाउने रहेको आफन्तका तर्फबाट अस्पतालसँगको वार्ताटोलीमा रहेका रमेश तुफानले जानकारी दिए । उनले भने, ‘निष्पक्ष छानविनका लागि मेडिकल काउन्सिल वा कानूनी निकायकहाँ पुग्ने लगायतका विषयमा छलफल जारी छ ।’

सामान्यतया यस्ता घटनापछि बिरामीका आफन्तले क्षतिपूर्तिको माग राख्ने गरेको भेटिन्छ । तर, ओम अस्पतालसँग मृतकका आफन्तले क्षतिपूर्ति माग गरेका छैनन् । उनीहरुले अस्पतालका तर्फबाट गल्ती भएको स्वीकार्दै सार्वजनिक रुपमा माफी माग्न भनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर