newskoseli.Com

समस्या समाधानमा सरकार गम्भीर भएन : खिलराज

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकका समस्या समाधानमा सरकार तथा दलहरू गम्भीर नभएको आरोप लगाएका छन् । यावत् समस्याको समाधान गर्दै संविधान कार्यान्वयन गराउन सरकार अघि बढ्नुपर्ने रेग्मीले बताएका छन् ।

नुवाकाेटका शक्तिपीठहरुमा पूजाअर्चना गर्न आएका रेग्मीले संविधान कार्यान्वयनका लागि सबैले सबैलाई स्वीकार्य हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । “संविधान कार्यान्वयनमा सबैलाई स्वीकार्य हुने वातावरण बनाउने गरी अगाडि बढ्नुपर्छ, अल्मलिएर होइन कि राजनीतिलाई व्यवस्थापन गरेर समृद्धि र विकासतर्फ लम्कनुपर्छ”– उनले भने ।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले २०७४ माघ ७ भित्र सबै प्रक्रिया पूरा भएमा देशले गति लिने बताउँदै विकास र समृद्धिको मार्ग अवलम्बन गर्दै भूकम्पले भत्काएका सम्पदा पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

पूर्वअध्यक्ष रेग्मीले तराईको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए । तराई समस्या समाधानका लागि सरकारमा जुन गम्भीरता हुनुपर्ने हो त्यो नभएकाले निकास नपाएको उनको भनाइ छ । “राज्यपक्ष संवाद, छलफलमा लाग्नुपर्छ । मधेसकेन्द्रित नेताहरुले पनि व्यावहारिक र उपयोगी मार्ग खोज्नुपर्छ । सबैले मिलेर निकासमा जाने हो भने समाधानमा नपुग्ने कुरै छैन”– रेग्मीले भने ।

धार्मिक अभियानकर्मी धर्मराज बरालले भूकम्पले क्षतिग्रस्त यहाँका सम्पदाहरुको पुनर्निर्माण छिटो गरी पर्यटन प्रबर्द्धन गर्नुपर्ने बताए । रेग्मीले यहाँका भैरवी मन्दिर र देवीघाटको जालपादेवीमा पूजाअर्चना गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर