newskoseli.Com

अाफ्नै स्याटेलाइट स्थापना गरिन्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रह (स्याटेलाइट) को स्थापना गर्न लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा विनियोजन विधेयक २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी–पहिरोकाे जोखिमयुक्त जिल्लामा मोबाइलमार्फत पूर्वसूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए ।

मन्त्री रार्इले राष्ट्रिय प्रशासरण नीति र अनलाइन निर्देशिकालाई परिमार्जन गर्न समिति गठन गरिएको जानकारी दिँदै मन्त्रालयअन्तर्गतका निकायका व्यवस्थापन सुधार भइरहेको समेत उल्लेख गरे ।

मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुट दिने व्यवस्थाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिँदै सूचना तथा सञ्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताए ।

राष्ट्रिय समाचार समितिको संस्थागत क्षमता अभिवृद्धि गरिने, चलचित्रलाई गतिशील बनाइने, हुलाक सेवालाई थप व्यावसायिक बनाइने, सुरक्षण मुद्रण समिति गठन गरिने, टेलिफोन सेवालाई विस्तार गरिने, २ सय ४० निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने जानकारी उनले दिए ।

मन्त्री राईले सामुदायिक सूचना केन्द्र विस्तार गरिने, नेपाल टेलिकमको प्राविधिक सुधार तथा गुणस्तरमा ध्यान दिइने, राष्ट्रका लागि मेरो योगदानअन्तर्गत ‘मेरो कल मेरो सेयर’ को थालनी गरिने तथा भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा मर्मतलाई तीब्रता दिइने समेत बताए ।

आमसञ्चार नीति मन्त्रिपरिषदमा पेस हुने अवस्थामा रहेको जानकारी दिँदै उनले सो नीतिले आमसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । मन्त्री राईको सो जवाफमाथि सांसद प्रेम सुवालले पूरक प्रश्न गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर