newskoseli.Com

श्रीमान् गुमेपछि रूपाको यस्तो दुःखेसो…

५ जनाको परिवार, सानो झुप्रो, त्यही पनि पानी चुहिने । न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान । रुपा विश्वकर्मा निकै समस्यामा छिन् । आफू सक्ने हुँदा त ज्यालामजदुरी गरेर ल्याएको अन्न खान पाइन्छ, नसक्दा चाहिँ भोकै ।

यस्तै पीडामा छिन् ढिमे– २, जाजरकोट, मालुमेला बस्ने रुपा विश्वकर्मा । १५ वर्षको उमेरमा डोल्पा लहाका बुद्धिबहादुर नेपालीसँग रुपाको बिहे भयो । ३ छोरी र १ छोरा जन्मिए । दुःखसुख गरेरै भए पनि जेनतेन परिवार चलिरहेको थियो । विवाह भएको ७ वर्षमै श्रीमानको ज्यान गयो ।

श्रीमानको मृत्युपछि परिवारको आर्थिक अवस्था पनि निकै नाजुक हुँदै गयो । छाक टार्न पनि समस्या भएपछि रुपा ४ लालाबाला लिएर माइतीघर जाजरकोट ढिमे आइन् । यहाँ पनि उनलाई गाँस र बासको समस्याले छाडेन । माइतीको अवस्था पनि उस्तै । जग्गाजमिनको नाममा १ टुक्रो पाखोबारी मात्र । दैनिक ज्यालामजदुरी गरेर खाने । तैपनि छोरीलाई बस्ने ओत दिए माइतीले ।

“न हातमा सीप छ न त काम गरी खाने खेतबारी नै छ, मैले कसरी पालौं यी केटाकेटी”, रुपाले दुःख प्रकट गरिन्– “यिनकाे पढाइ खर्च कहाँबाट जुटाऊँ ।”

रुपा भन्छिन्– “म त साह्रै समस्यामा परें । पढ्ने उमेर (सानै) मा बिहे भयो, बिहे गर्ने उमेरमा विधवा हुनु पर्यो । अब साथमा रहेका ४ छोराछोरीको लालनपालन र पढाइलेखाइ कसरी गरुँ ?” उनकी जेठी छोरी पार्वती ९ वर्ष, माइली छोरी चन्दा ८ वर्ष, कान्छी छोरी रेखा ४ वर्ष र छोरा अनिल ३ वर्षका भए ।

गाँउलेको गहुँ, मकै, धान गोड्ने, रोप्ने, काट्ने काम गर्दै २५ वर्षिया रुपाले केही जोहो गरेकी छन् । श्रीमान् बितेको तीन वर्ष भयो । “जिन्दगी अझै धेरै लामो छ, कसरी बित्ने हो– केही थाहा छैन”, उनले भनिन् । कसैले सिपमूलक तालिम दिएको भए र छोराछोरीलाई पढाउने व्यवस्था मिलाइदिएको भए आफ्ना लागि ठूलो राहत हुने उनले बताइन् ।

“मीठोमसिनो खाने, राम्रा कपडा लगाउने कुरा त हाम्रा लागि सपना नै भए, दुई छाक गाँस र शरीर ढाक्ने एकसरो कपडाका लागि सङ्घर्ष गरिरहनु परेको छ”– दुःख सुनाउँदै रुपाले भनिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर