newskoseli.Com

‘प्रधानमन्त्रीले संसद् विघटन गर्नुहुन्न’ : मन्त्री

सत्ताधारी गठबन्धनको मुख्य घटक माओवादी केन्द्रसहित कतिपय दलले समर्थन फिर्ता लिर्इ मन्त्रीपरिषद छाडिदिएपछि अल्पमतमा परेको वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने चर्चा चलिरहेका बेला ओली मन्त्रीपरिषदका एक वरिष्ठ मन्त्री एवम एमाले नेताले ओली संसद विघटनको मनस्थितिमा नरहेको बताएका छन् ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्रीले संसद् विघटन नगर्ने र सरकारले अविश्वासको प्रस्ताव सामना गर्ने बताएका हुन् । आइतबार राजधानीमा आयोजित साक्षात्कारमा पाण्डेले संविधानले निर्दिष्ट गरेको बाटोबाट सरकार एक इन्च पनि तलमाथि नहुने बताउँदै संसदमा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकार अल्पमतमा पर्यो भनी राजीनामा माग्नु असंवैधानिक हुने बताए ।

मन्त्री पाण्डेले आफूअनुकूल संविधानको व्याख्या नगर्न आग्रह गर्दै संसदबाट केही आर्थिक विधेयक पारित नभए सरकार मात्रै नभएर मुलुक नै असफल हुने दावी गरे ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन बनेको दावी गरे । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्दा मुलुकले निकास पाउने विश्वास कांग्रेसले लिएको धारणा राख्दै केसीले राजनीतिक दलहरुबीच तिक्तता रहे पनि संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा मिलेरै अघि बढ्नुपर्ने बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले मुलुकका विद्यमान समस्यालाई समाधान गर्न संविधानप्रति असन्तुष्ट मधेसी, आदिवासी, जनजाति, पिछडिएका वर्गको भावनालाई सम्बोधन गरिनुपर्ने बताए । उनले एमालेले आफ्नो पार्टीसँग विगतमा गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै प्रधानमन्त्रीले नैतिकता प्रदर्शन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर