newskoseli.Com

को–को बन्दैछन् कांग्रेसबाट मन्त्री ?

कांग्रेस–माओवादीसहितको गठबन्धनमा बन्ने नयाँ सरकारको चहलपहल बढेसँगै अब बन्ने मन्त्रीमण्डलका विषयमा भित्रभित्रै चर्चा उत्कर्षमा पुगेका जानकारीहरु प्राप्त भइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि सबैको ध्यान संसदको पहिलो पार्टी कांग्रेसले कुन–कुन मन्त्रालय लिँदैछ र कांग्रेसबाट मन्त्रीमण्डलमा को–को सहभागी हुँदैछन् भन्नेमा खिँचिएको छ ।

पहिले सरकार बनाउँदा दुईटा गुटलाई समेट्नुपर्ने भएजस्तै अहिले पनि सभापति शेरबहादुर देउवाले महाधिवेशनमा प्रतिस्पर्धा गरेका फरक–फरक गुटलाई सन्तुष्ट पार्नुपर्ने बाध्यता छ ।

समाचारस्रोतका अनुसार मन्त्रीको टुंगो लगाउन सभापति देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यतिबेला आ–आफ्नो समूहको आन्तरिक बैठक तीब्र पारेका छन् ।

मन्त्रीमण्डलमा सहभागिताको विषयमा छलफल गर्न साउन १ मा रामचन्द्र पौडेल पक्षको बैठक बसेको थियो । सो बैठकमा कांग्रेसले लिनुपर्ने मन्त्रालयहरु र बन्ने मन्त्रीहरुका बारे छलफल भए पनि कुनै टुंगो नलागेको एक नेताले न्युजकोसेलीलाई बताए ।

कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले संविधान कार्यान्वयको महत्वपूर्ण जिम्मेवारीसहित बन्ने अबको सरकारमा नयाँ तथा अनुभवी व्यक्तिलाई मन्त्री बनाउनुपर्ने यथार्थतालाई आत्मसात गर्नेगरी छलफल भइरहेको बताए ।

सभापति देउवा समेत पार्टी एकताको सन्देश दिनेगरी सबैलाई मिलाएर मन्त्रीपरिषदमा सामेल गर्नुपर्ने दबाबमा छन् । त्यसका लागि देउवाले नयाँ तथा परिपक्व व्यक्तिको नेतृत्वमा सरकारमा जाने विषयमा जोड दिइरहेको निकटस्थ स्रोतको भनाइ छ ।

समाचार स्रोतले विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेसले आफ्नो टोली सरकारमा पठाउने सम्भावना प्रबल रहेको बतायो । यद्यापि निधिलाई उपसभापति बनाइएमा डा. शेखर कोइराला वा के.बी. गुरुङको नेतृत्वमा कांग्रेस मन्त्रीहरु दाहाल सरकारमा सामेले हुने सम्भावना रहेको बताइन्छ ।

कृष्णप्रसाद सिटौलाले भने आफ्नै विशेष पहल र सक्रियतामा विगतमा दाहाल र माओवादीलाई शान्ति प्रक्रियामा ल्याई सो प्रक्रिया सफल समेत पारेकाले दाहाल र आफ्नो ‘केमिस्ट्री’ मिल्ने दावी गर्दै कांग्रेस टोली आफ्नै नेतृत्वमा सरकारमा जानुपर्ने दावी गरिरहेको बताइन्छ ।

यसै ‘स्पिरिट’ मा सिटौलाले आन्तरिक तथा बाह्य छलफललाई तीब्र बनाइरहेको स्रोतको भनाइ छ । उनले सके आफ्नै नेतृत्वमा सरकारमा जाने, नभए आफूनिकट रहेका भीमसेनदास प्रधानलाई मन्त्री बनाउन लबिङ्ग गरिरहेका छन् ।

माओवादी–एमालेबीच सम्बन्ध बिग्रिएको अवस्थामा बन्न लागेको सरकारमा क्षमतावान्, तर्कशील, समन्वय गर्न सक्ने, निश्कलंक छविका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएका अनुभवी नेतालाई प्राथमिकता दिनुपर्ने भनी कांग्रेसभित्र छलफल चलिरहेको छ ।

दाहाल नेतृत्वमा गठन हुने सरकारमा कांग्रेसबाट मन्त्री बन्नुपर्ने भन्दै गगनकुमार थापा, सीतादेवी यादव, बालकृष्ण खाँड, रमेश लेखक, ज्ञानेन्द्र कार्की, राजन केसी, प्रकाशशरण महत, महेश आचार्य, चन्द्र भण्डारी, दिपक गिरी, मानबहादुर विश्वकर्मा, शंकर भण्डारी, कमला पन्त, डिना उपाध्यायलगायतको नाम चर्चामा रहेको बताइन्छ ।

मन्त्रीमण्डल समावेशी बनाउनुपर्ने विषयमा पनि कांग्रेसभित्र चर्कै आवाज उठिरहेको स्रोतको दावी छ । मन्त्री चयनका सन्दर्भमा सभापति देउवाभन्दा उनकी पत्नी आरजुको ‘बोलवाला’ चल्नेतर्फ संकेत गर्दै मन्त्री बन्ने चर्चामा रहेका कांग्रेसका एक सांसदले भने– ‘शेरबहादुर दाइसँग निकै राम्रो सम्बन्ध भएर के गर्नु ! आरजु भाउजूसँगको सम्बन्ध कहिल्यै सप्रेन । खै, मेरो त सम्भावना निकै कम छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर