newskoseli.Com

‘सभामुख महोदय ! सरकार बनाउने र गिराउने मात्रै कि बिचल्लीमा परेकालार्इ पनि हेर्ने ?’

फाइल फाेटाे

जनताका आधारभूत आवश्यकता र जनजीवनले भोगिरहेका विपत्तिमा भन्दा सरकार बनाउने र गिराउने खेलमा संसदको बढ्ता ध्यान केन्द्रित भएकोमा सांसदहरूले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको विशेष समयमा सांसदहरुले सदन सरकार गिराउन र बनाउन मात्रै व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जाओस्, राहत पुर्याउन समेत ध्यान नदिएको गुनासो गरेका हुन् ।

निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिममा परेकाले स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पुर्याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् ।

सांसदले सभामुख ओनसरी घर्तीसित समय लिई बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाएका हुन् । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उनीहरुले माग गरे ।

सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पुर्याउन नसकेको आरोप लगाए । सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पुर्याउन नसकेको बताए । सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिए ।

सांसद डा. सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताले ध्यान दिनुपर्ने बताए । सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन किन भन्दै प्रश्न गरे ।

सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्ने बताए । सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गरे ।

सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षातले पहिरो जाँदा १ जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस् भने ।
सांसद ऋषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताए ।

सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुुबानपीडितलाई राहत पुर्याउन माग गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर