newskoseli.Com

नेतृत्वमै आकांक्षी धेरै : मन्त्री छान्न कांग्रेसमा सकस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसका तर्फबाट नेतृत्व गर्दै सहभागी हुन धेरै नेताहरु आकांक्षी भएपछि पार्टी नेतृत्व सकसमा परको छ । मन्त्रीपरिषदमा सहभागी हुन अरू नेताहरूबीच चर्को लबिङ त चलिरहेकै छ, जसले सभापति देउवाको टाउको खान थालेको छ ।

महाधिवेशनमा आफूलार्इ लगाएको ‘गुन’ तिर्ने हिसाबले सभापति शेरबहादुर देउवा पदाधिकारीबीच सन्तुलन मिलाउनुपर्ने दबावमा छन् । एमाले–माओवादीको गठबन्धन भत्काउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले आ–आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने टोली बनाइनुपर्ने दबाव देउवामाथि चर्को बनाएका छन् ।

अहिले बन्न लागेको सरकारमा सहभागी हुन नेता विमलेन्द्र निधिले तीब्र आकांक्षा देखाएका छन् । निधिको सवालमा देउवा सकारात्मक भए पनि उनले पार्टीमा पदाधिकारी र सरकारमा पार्टीतर्फको नेतृत्वमा दुबैमा सशक्त दावी प्रस्तुत गरेपछि देउवा उनकै नेतृत्वमा कांग्रेस टोली सरकारमा पठाउने–नपठाउने दोधारमा परेका छन् ।

अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पनि सरकारमा सहभागी हुने कांग्रेस मन्त्रीहरूको टोली आफ्नै नेतृत्वमा हुनुपर्नो आकांक्षा देखाएका छन् । सिटौला पक्षले महाधिवेशमा तत्कालीन संस्थापन पक्षलाई ‘धोका’ दिएर देउवालाई सहयोग गरेको र अहिलेको संक्रमणकालमा सबैलाई सन्तुलनमा राख्न सक्ने क्षमता समेत भएकाले उनको विकल्प नभएको दावी कांग्रेसभित्रको ठूलै तप्काले अघि सारेको छ ।

विगतमा शान्ति प्रक्रियामा महत्वूर्ण भूमिका खेलेको, अविश्वासको प्रस्तावपछि दलहरुबीच सम्बन्ध चिसिँदै गएको, संविधान कार्यान्वनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो सम्बोधन हुन नसकेको, सिटौला लामो समयदेखि सरकारमा सहभागी नभएको अवस्थामा उनकै आवश्यकता बढेको भन्दै सिटौला पक्षले दबाव दिइरहेका छ ।

कांग्रेसका एक सांसद भन्छन्– ‘सिटौलाको नेतृत्वमा अरुलाई समेट्न सकिँछ तर अरुको नेतृत्वमा सरकारमा जाँदा सिटौलालगायतका नेताहरुलार्इ सहभागी गराउन सकिँदैन त्यसैले यस पटकका लागि सिटौलाको विकल्प छैन ।’

कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्षलाई पनि मन्त्री छान्ने कुरा चुनौतीकै विषय भएको छ । पौडेललाई पनि महाधिवेशनको टिम जोगाइराख्नुपर्ने दबाव छ । पार्टीमा महामन्त्री र कोषाध्यक्ष आफ्नै पक्षका भएकाले मन्त्रीमण्डलमा सम्मानजनक उपस्थिति हुनुपर्ने सो समूहको दावी छ ।

पौडेलले नयाँ बन्ने मन्त्रीमण्डलमा आफ्नो समूहको सम्मानजनक उपस्थिति नभए सरकारलाई असहयोग गर्ने नीति अवलम्वन गर्न सक्ने खतरा देखिएको स्रोतको भनाइ छ । देउवाले मन्त्रीहरूको मापदण्ड निर्धारण गर्न भन्दै खासमा मन्त्री छान्न बनाएको टिममा आफू पक्षकालार्इ नसमेटेर देउवा पक्षलार्इ मात्रै समेटेकोमा पौडेप पक्ष सशंकित छ ।

निधि र सिटौला मात्र होइन, सरकारमा कांग्रेस टिमको नेतृत्वका लागि डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ समेत प्रबल दावेदारका रुपमा अगाडि सरकाले मन्त्रीमण्डलमा पठाउने टिम छान्नु देउवाका लागि कठिन विषय बन्दै गएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर