newskoseli.Com

‘बाँचे जीवन, मरे चिहान’ नारा आत्मसात् गर्न जोड

खम्बूवान राष्ट्रिय मोर्चा नेपालले जातीय अन्याय र विभेदविरुद्ध पार्टीको ‘बाँचे जीवन, मरे चिहान’ नारालाई आत्मसात् गर्नपर्नेमा जोड दिँदै ७ प्रदेश नमान्ने बताएको छ ।

पार्टीको २४औं स्थापना दिवसमा राजधानीस्थित संवाद डबलीमा आइतबार आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा खम्बूवानले सो चेतावनी दिएको हो । सो पार्टीका अध्यक्ष रामकुमार राईले अहिले कायम गरिएका ७ प्रदेशको अवधारणा आफ्नो पार्टीका निम्ति स्वीकार्य नहुने बताए ।

‘सात वटा प्रदेशले आत्मनिर्णयको अधिकार र स्वायत्तता दिन सक्दैन, प्रदेश संख्या पनि कम भएको छ’, अध्यक्ष राईले भने– ‘भौगोलिक र जातीय पहिचान झल्कनेगरी प्रदेशहरु बनाइनुपर्छ ।’

पहिचान, भूगोल र सामर्थ्यको आधारमा प्रदेशको निर्माण र नामकरण गरिनुपर्नेमा उनको जोड छ । थुप्रै गणराज्य मिलाएर राष्ट्र बनाइनेगरी देशमा गणतन्त्र आएको बताउँदै उनले भने– ‘मोरङ, झापा, सुनसरीसहित पूर्वका १४ जिल्लालाई खम्बूवान राज्य बनाइनुपर्छ ।’

चौबीस वर्षको संघर्षपछि खम्बूवानीहरुले गणराज्यसहितको संविधान प्राप्त प्राप्त गरेको भन्दै खम्बूवानीहरुले अब रगत होइन, पसिना बगाउनुपर्ने बताए ।

‘एक नम्बर प्रदेशमा पर्ने चौध जिल्लाका खम्बूवान प्रदेशलाई दुई वर्षभित्र समृद्ध बनाउन सम्पूर्ण खम्बूवानी डटेर लाग्नुपर्छ’, राईले भने– ‘संविधान कार्यान्वयन भएको २ वर्षभित्र खम्बूवानका जनता सुनको घर हाल्न सक्ने हुन्छन् ।’ खम्बूवान जात नभई किराँत, राई, लिम्बूको पूर्खाको एउटै पहिचान भएको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेता गोपाल किरातीले खम्बूवान आन्दोलनमा रहुन्जेल खम्बू लेखेको र पछि उग्र बनी खम्बू हटाएर सिंगो खम्बूवानी आन्दोलनलाई धोका दिएको उनले बताए ।

अर्को एक प्रसंगमा खम्बूवान अध्यक्ष राईले बाहुन–क्षेत्रीकै कारण देशमा धर्मनिरपेक्षता आएको बताए । ‘बाहुन र क्षेत्रीबीचकै अन्तर्द्वन्द्वले देशमा धर्मनिरपेक्षता आएको हो, कुनै आदिवासी–जनजातिले गर्दा होइन ।’

तत्कालीन एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड बाहुन भएर पनि धर्मनिरपेक्षताको पक्षमा खुलेर लागेको राईको भनाइ छ । अध्यक्ष प्रचण्डले नेपालमा मार्क्सवादको प्रयोग गलत तरिकाबाट प्रयोग गरेको आरोप राईले लगाए ।

सांसद समेत रहेका राईले संसद फटाहा नै फटाहाहरु बस्ने ठाउँ भएको बताए । ‘लेनिनले भन्नुभएको थियो संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो, यहाँ बस्ने सबै फटाहा नै फटाहा मात्र हुन्छन्’ उनले भने ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले जातीय अन्याय र विभेदविरुद्ध पार्टीको ‘बाँचे जीवन, मरे चिहान’ नारालाई आत्मसात् गर्नपर्नेमा जोड दिए । आफूहरुलाई राज्यले पूरा अधिकार नदिई घाइते बाघको अवस्थामा पुर्याएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा श्यामकुमार राई, राजेन्द्र दुष्ट राई, ऋषि खम्बू राई, सुवास राई, सपना राई, शान्तिराज राईलगायतले मन्तव्य राखे । एक नम्बर प्रदेशलाई तलमाथि गरी ताम्सालिङ, मधेस, मगरात, थरुहट, खसान, तमुवान इत्यादि नामकरण गर्नुका साथै प्रदेश संख्या बढाउनुपर्नेमा उनीहरुले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर