newskoseli.Com

कता, केमा व्यस्त छन् बादल ?

नेपाली माओवादी आन्दोलनको एउटा बहुचर्चित नाम हो– कमरेड बादल । रोल्पाका रामबहादुर थापालाई तत्कालीन नेकपा (मशाल) ले बादलका रुपमा चिनायो । त्यसपछि बनेको नेकपा (एकताकेन्द्र) ले उनको छवि झन् उजिल्यायो । र, दसवर्षे जनयुद्धले त बादललाई चर्चाको शिखरमै उभ्याइदियो ।

आमसञ्चारका माध्यममा होस् या सार्वजनिक जमघटमा, विरलै मात्र देखापर्छन् कमरेड बादल । शीर्ष तहका दलीय छलफलमा सहभागी हुँदा समेत बादल प्रायः अरुका कुरा ध्यानपूर्वक सुन्ने र आफूचाहिँ निकै कम बोल्ने गरेको कांग्रेस–एमाले नेताहरु बताउँछन् । आफ्नै पार्टीभित्रका बैठक, छलफल र प्रशिक्षणहरुमा समेत बादलले अत्यन्तै कम बोल्ने र बोलिसकेपछि चाहिँ ‘आकाश–पाताल हल्लने गरी’ नै प्रभाव छाड्ने गरेको माओवादी नेताहरुको भनाइ छ ।

बादलको आनीबानी र व्यवहार पनि ठ्याक्कै उनको नामजस्तै भएको माओवादीका उपल्लो तहका कार्यकर्ताको अनुभव छ । माओवादी कार्यकर्ताहरुका अनुसार आकाशमा लाग्ने बादलझैं धुम्म परेर बसिरहने तर बोल्नै परेपछि मेघ झैं गर्जने उनको स्वभाव छ ।

उनी पत्रपत्रिकामा स्तम्भ वा आलेख पनि उतिसारो लेख्दैनन्, अन्तर्वार्ता पनि निकै कम मात्र दिन्छन् । यति हुँदाहुँदै पनि सधैंजसो कुनै न कुनै रुपबाट चर्चाको शिखरमै छाइरहन्छन् कमरेड बादल ।

प्रचण्ड, मोहन वैद्य, सीपी गजुरेल, बादल, पोस्टबहादुर बोगटीलगायतको टिम नेकपा (मशाल) निर्माणकालदेखि पहिलो संविधानसभाको अवधिभरसम्म सँगसँगै क्रियाशील रह्यो । एकताकेन्द्रकालदेखि सो टिममा बाबुराम भट्टराईहरु पनि थपिए ।

एकताकेन्द्रको निर्माणकालदेखि पहिलो संविधानसभाको निर्वाचन सम्पन्न हुने अवधिसम्ममा प्रचण्ड मात्रै मूल नेताका रुपमा अगाडि रहे । वैद्य, बाबुराम, गजुरेल, बादल, बोगटीलगायतका नेताहरुको वरिष्ठताक्रम तोकिएन । नारायणकाजीहरुसँग माओवादीको एकता भएर एकीकृत नेकपा (माओवादी) बनेपछि भने क्रमशः प्रचण्ड, वैद्य, बाबुराम, नारायणकाजी, बादल, गजुरेल र बोगटी हुँदै नेताहरुको ‘सिनियरिटी’ निर्धारित भयो ।

यसरी हेर्दा नेकपा (माओवादी) भित्र चौथो वरिष्ठतामा रहेका बादल जनयुद्धको थालनीअघि राप्ती क्षेत्रमा चलेको ‘सिज अभियान’ मार्फत चर्चाको शिखरमा पुगे । त्यसपछिको केही समय ओझेलमा परेजस्ता देखिएका बादल फेरि ठूलै चर्चामा छाए । जनयुद्धकालभरि विभिन्न ढंगले चर्चामै रहेका बादल दोस्रो वार्ताकालमा झन् बढी चर्चित भए ।

तत्कालीन राज्यपक्ष र पार्टीबाहिरकाले भने बादललाई प्रचण्ड र बाबुरामपछिको तेस्रो नेताका रुपमा बुझे । अझ सामरिक पक्ष र फौजी रणनीतिका दृष्टिले भने माओवादी पार्टीको पहिलो नेताकै रुपमा उनलाई चित्रित गरे ।

तत्कालीन विद्रोही नेकपा (माओवादी) र राज्य पक्षबीच भएको पहिलो पटकको वार्ता असफल भएपछि दोस्रो पटक वार्ताटोली बनाउँदा राज्य पक्षले माओवादीका तर्फबाट बादलविनाको वार्ताटोली बनाइए त्यससँग कुरै नगरिने चेतावनी दियो । माओवादी जनयुद्धको समग्र रणनीतिकार र मुख्य फौजी कमान्डर नै बादल भएको बुझाइ तत्कालीन शाही नेपाली सेनासहित समग्र राज्यपक्षमा देखियो । सेना र राज्यले प्रचार पनि सोही ढंगबाट गरिरहे ।

यथार्थता त्यस्तो थिएन । तर, त्यो प्रचारलाई न माओवादी पार्टीले खण्डन गर्यो न बादल आफैंले नै गरे । सशस्त्र जनयुद्धरत भूमिगत नेकपा (माओवादी) र सोही पार्टीका वरिष्ठ नेता बादल स्वयमले त्यसो गर्ने कुरा पनि भएन ।

पहिलो संविधानसभापछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा रक्षामन्त्री बनेका बादलले कटवाल प्रकरणमा फेरि ठूलै चर्चा पाए । पहिलो संविधानसभाको उत्तरार्द्धभरि वैद्य–गजुरेल र देव गुरुङहरुले उत्कर्षमा पुर्याएको विभाजोन्मूख विवादको अन्तिम समय बादल वैद्यहरुसँगै जोडिएर फेरि चर्चाको शिखरमा पुगे ।

बौद्ध भेलामार्फत एमाओवादी विभाजित भई वैद्यको नेतृत्वमा ड्यास माओवादी बनेपछि बादल सिंगो माओवादीको महासचिव पद त्यागेर वैद्य माओवादीको महासचिव बन्न पुगे । वैद्य माओवादी गठनको केही समय नबित्दै विप्लवहरुसँगको विवादमा फेरि चर्चाको केन्द्र बने उनै बादल । वैद्य माओवादीको चर्चित पोखरा बैठक र दोस्रो संविधानसभा निर्वाचन बहिष्कारको घटनाले अरु नेतासहति बादल समेतलाई व्यापक चर्चामा ल्याए ।

ड्यास माओवादीबाट विप्लवहरु अलग्गिएपछि केही समय फेरि गुमनामजस्तै रहन पुगेका बादल प्रचण्डहरुसँगै विनाशर्त एकतामा जानुपर्ने एजेन्डा अघि सारेपछि चर्किएको वैद्य–गजुरेलहरुसँगको विवादबाट फेरि चर्चाको शिखरमा पुगे ।

अन्ततः वैद्य माओवादी विभाजित गराई प्रचण्डहरुसँग एकता गरेर माओवादी केन्द्र गठन गरेपछि बादलले पछिल्लो पटक चर्चाको शिखर चुमे । एकतापछिको पहिलो केन्द्रीय बैठक सकिए लगत्तै एक दैनिक पत्रिकालाई लामो अन्तर्वार्ता दिएर समग्र विषय र पक्षमा धारणा खुलस्त गरेपछि बादल फेरि गुमनामजस्तै भएका छन् ।

‘नारायणकाजी भर्सेज बादल’ शितयुद्ध !

Badal_Narayankaji

एकतापछि पार्टीको दोस्रो हैसियतमा बादललाई स्थापित गर्ने कि नारायणकाजी नै रहने भन्ने ‘शितयुद्ध’ ले माओवादी केन्द्रमा केन्द्रदेखि सेलसम्मै बहस जन्माएको छ । श्रेष्ठ विगतदेखि नै बादलभन्दा सिनियर पदमा रहिआएकाले उनी नै स्वतः सिनियर हुनुपर्ने नारायणकाजी पक्षधरहरुको दावी छ । तर, बादल पक्षधरहरु र तत्कालीन एमाओवादीवालाहरुको ठूलो हिस्सा चाहिँ विभाजित पक्षको नेतृत्व गरी एकतामा सामेल भएका र पार्टी एकतामा सर्वाधिक महत्वपूर्ण भूमिका खेलेका हुनाले अब बादल नै प्रचण्डपछिको दोस्रो सिनियर हुनुपर्ने तर्क गरिरहेका छन् ।

त्यसैगरी आजको माओवादी केन्द्रको मुख्य जग र आधार दसवर्षे जनयुद्ध नै भएको कुरामा पार्टीभित्र कुनै विवाद छैन । जनयुद्ध लगत्तै भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ले कांग्रेस–एमालेभन्दा दोब्बर हैसियतमा जनमत प्राप्त गरेको थियो । तर, आफूहरु पनि केही वर्षअघि माओवादीबाटै विभाजित भएको हुँदा बराबरी हैसियका हौं भनेर दावी गर्ने नारायणकाजीहरूले देशभरमा जम्मा २ सिट मात्रै जितेका थिए । त्यो पनि उनै माओवादीहरुले आफ्ना उम्मेदवार फिर्ता बोलाएर, समर्थक–शुभचिन्तकलाई प्रचारप्रसारमा खटाएर, जताततै भाषण गरी भोट मागिदिएर र पर्चा–पोस्टरसम्म छाप्ने र टाँस्ने काम समेत गरिदिएर गिरिराजमणि र अमिक शेरचनलार्इ जिताइदिएका थिए ।

यसरी नारायणकाजी नेतृत्वको तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल) को वास्तिवक हैसियत उहीबेला नै देखिएको थियो । तर, पहिलो संविधानसभा निर्वाचनपछि माओवाद–विचारधारामा आस्था राख्ने सबैजसो फुच्चेफाच्चे समूहहरूसँग एकता गरेर वृहत् माओवादी केन्द्र बनाउने लहड चल्यो तत्कालीन नेकपा (माओवादी) र विशेषतः अध्यक्ष प्रचण्डमा ।

यस क्रममा माओवादीले जनयुद्धमार्फत नेपाली समाज, राज्य र राजनीतिको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेजस्तै नारायणकाजीहरूले पनि ‘शान्तिपूर्ण जनसंघर्ष’ मार्फत ‘परिपूरकको काम गरेको’ भन्दै उनीहरूलार्इ अनावश्यक ढंगबाट बढाइचढार्इ गरेर फुर्क्याउँदै एकतामा ल्याउने काम भयो । त्यसो हुँदा जनयुद्धकालभरि जनयुद्धको विरोध र माओवादी नेता–कार्यकर्ताको सत्तोसरापमा भएभरको श्रम, सिप, समय र जनशक्ति खर्चेका नारायणकाजी उही माओवादीको उपाध्यक्ष बन्न पुगे । उनी समर्थक सेल कमिटीका सदस्यहरु राज्य समितिमा र जिल्ला कमिटीका सदस्यहरु पोलिटब्युरोमा आसिन भए ।

तर, सिंगो माओवादी पार्टीको निर्माण, विकास, विस्तार र समग्र जनयुद्धको उठान, रक्षा तथा विकासमा निकै ठूलो योगदान गरेका बादलहरु चाहिँ ‘मिनिमाइज’ भर्इ ओझेलमा परे । जनयुद्ध लडेका निकै स्तरीय धेरै कार्यकर्ताहरु पार्टीमा धेरै तल थचारिए । अत्यन्तै जुनियर र भूमिकाविहीन गैरमाओवादीहरुलाई ‘नेता’ मानेर वास्तविक माओवादीहरू चाहिँ ‘कार्यकर्ता’ बन्न विवश भए । यतिबेला भने विगतमा बादल र खाँटी माओवादीहरूमाथि भएको ‘संगठनात्मक अन्याय’ सच्यार्इ वास्तविक हैसियतमा स्थापित गर्नुपर्ने धारणा माओवादी केन्द्रमा प्रबल भएको छ ।

के गरिरहेछन् बादलहरु आजभोलि ?

यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । को–को मन्त्री बन्ने र कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने होडबाजी चर्किएका बेला बादलहरु भने ‘बेल पाक्दा कागलाई हर्ष न बिस्मात’ भने झैं अवस्था भोग्न बाध्य भए ।

नयाँ संविधानले सांसद नभएका नेता मन्त्री बन्न नपाइनेगरी गरिदिएको व्यवस्थाका कारण अलग्गै पार्टी बनाएर दोस्रो संविधानसभा बहिष्कार गरेका बादलहरु सरकारमा सहभागी हुन पाइरहेका छैनन् । विगतमा मन्त्री भईवरी बीचमा ‘बहिष्कारवादी’ बनेर अहिले फेरि एकीकृत भई माओवादी केन्द्रमा आबद्ध बादल, देव गुरुङ, मातृका यादव, फम्फा भुसाल, जयपुरी घर्तीलगायतका नेताहरुका हातमा यतिबेला भने ‘पार्टी सम्हाल्ने र सरकारलाई सघाउने’ भूमिका आइपरेको छ ।

विगतमा मन्त्री बन्दा राम्रो ‘पर्फर्मेन्स’ देखाएकी अनुभवी, परिवक्व र वाक्चातुर्य भएकी नेतृ पम्फा भुसालाई आफू प्रधानमन्त्री बन्ने पक्काजस्तै भएदेखि नै अध्यक्ष प्रचण्डले निरन्तर आफूसँगै राखेर ‘सहयोगी मोर्चा’ को कमान्ड सम्हाल्न लगाएका छन् । मुख्य राजनीतिक सल्लाहकार बनाउने चर्चा गरिएका देव गुरुङको भूमिका यतिबेला के–कसो हो ? कुनै पत्तो छैन ।

Prachanda_Badal

बादल स्वयम् भने आजभोलि पूरै कार्यालय समय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै बिताइरहेका छन् । पुरानो आनीबानी र कार्यशैली बदलेर बादल यतिबेला दिनहुँ सयौं नेता–कार्यकतासँग भेटघाट र छलफल गरिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेर बालुवाटार सरेपछि उनले पार्टीलाई समय दिन भ्याइरहेका छैनन्, यो अभाव परिपूर्ति गर्न मरीमेटेर लागेका छन् बादल कमरेड ।

संगठन विभाग प्रमुख बादललाई प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा अघिल्लो दिन भेटेर अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म पार्टीपंक्तिमा नेतृत्वको अभाव खड्किन नदिन आग्रह सहितको निर्देशन दिएको माओवादी केन्द्रका एक नेता बताउँछन् । प्रचण्डको यस्तो निर्देशन लगत्तैदेखि बादलले पूरै शक्ति र समय लगाएर पार्टी केन्द्रीय कार्यालय सम्हालिरहेका छन् ।

माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यले भने– ‘आजभोलि बादल कमरेडले पुरानो अन्तर्मुखी स्वभाव त्याग्नुभएको देखिँदैछ । एउटा ठूलो नेताले कार्यालयमा बसेर नियमितजसो नेता–कार्यकर्ता भेटिरहँदा र उनका गुनासा सुनिरहँदा मात्रै पनि पार्टीका आधा समस्या समाधान हुँदारहेछन् । बादल कमरेडको यो व्यवहारबाट हामीमा नयाँ आशा पलाएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर