newskoseli.Com

वैद्य भन्छन्– प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरे

नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गम्भीर राष्ट्रघात गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्रीको आशिर्वाद थाप्न गएको तर त्यसमा समेत सफल हुन नसकेको समेत अध्यक्ष वैद्यले दावी गरेका छन् ।

‘भदौ ३० देखि असोज २ सम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीमार्फत् संयुक्त वक्तव्य पनि जारी गरिएको छ । नेपालका प्रधानमन्त्रीका तर्फबाट यो भ्रमण भारतसितको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन र विश्वासको वातावरण बनाउन पूर्ण सफल भएको अभिव्यक्ति पनि दिइएको छ । परन्तु, सो वक्तव्य नेपाल र नेपाली जनताको हितविपरीत रहेको देखिन्छ’, प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको प्रतिक्रिया व्यक्त गर्दै अध्यक्ष वैद्यद्वारा ण्आइतबार जारी विज्ञप्तिमा भनिएको छ– ‘भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि–सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकामा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि–सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको छ । यो एकातिर गम्भीर राष्ट्रघात हो भने अर्कोतिर भविष्यमा अझ राष्ट्रघाती सन्धि–सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट हुन्छ ।’

‘संयुक्त वक्तव्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत् आयोजनालाई ब्युँझाइएको छ, बिप्पाप्रति सहमति जनाइएको छ, माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जाव्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिँदै व्यापार–पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिकलगायत विविध पक्षमा भारतीय विस्तारवादद्वारा गरिएका हस्तक्षेपलाई नवीकरण गरिएको स्पष्ट देखिन्छ’, दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै वैद्यले भनेका छन्– ‘सो सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उम्मेदवारीमा भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीतिविपरीत हुन गएको छ । साथै, संविधान निर्माणलाई आन्तरिक मामिला बताउँदै आएका नेपालका प्रधानमन्त्री सो संविधान संशोधनलगायतका विषयमा भारतीय प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारतमा गएको र त्यो पनि सफल बन्न नसकेको कुरा सो संयुक्त वक्तव्यद्वारा जाहेर हुन गएको छ ।’

‘तसर्थ, हाम्रो पार्टी भारतसित गरिएका सन् १९५० लगायत ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत् परियोजनालगायतका असमान तथा राष्ट्रघाती सन्धि–सम्झौता एवम् सहमतिहरुको खारेजी सहित नयाँ आधारमा नयाँ सम्झौता–सहमति गर्नका लागि विशेष जोड दिन्छ’, विज्ञप्तिको अन्त्यमा अध्यक्ष वैद्यले उल्लेख गरेका छन्– ‘हाम्रो पार्टी नेपालका प्राकृतिक तथा मानवीय स्रोत–साधनहरुको नेपाली जनताकै हितमा उपयोग गर्न र बाह्य हस्तक्षेप तथा राष्ट्रघातका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ ढंगले संगठित तुल्याउन पुनः प्रतिबद्धता जाहेर गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर