newskoseli.Com

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

महानवमीका दिन काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । प्रत्येक वर्ष दसैंको नवमीका दिन मात्र उक्त मन्दिर सर्वसाधारणका लागि खुला गरिने हुँदा भक्तजनको घुइँचो लागेको छ ।

दर्शनार्थीको भीड बढेपछि हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा सुरक्षाकर्मीले भीड व्यवस्थापन गरेका छन् । विभिन्न सामाजिक सङ्घसंस्था तथा स्थानीय युवा क्लबले समेत स्वयमसेवक खटाएका छन् । स्वयमसेवकले दर्शनार्थीको भीड व्यवस्थापन तथा पथप्रदर्शनमा सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी रमेशमान मुनिकारका अनुसार उक्त मन्दिरमा नवमीका दिन दर्शन गरेमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुन्छ । नवमीका दिन करिव ७० हजारदेखि ८० हजारले उक्त मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ ।

अड्डाकी निर्देशक सरस्वती सिंहले वर्षमा एक पटक मात्र सो मन्दिर खोलिने भएकाले काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका दर्शनार्थीको समेत सहभागिता बढ्ने बताउँदै आएका दर्शनार्थीलाई छिटोछरितो दर्शनको व्यवस्था मिलाइएको जानकारी दिइन् ।

यसैगरी, सोही मन्दिर नजिकै अाइतबार राति ५४ बोका तथा ५४ राँगाको बलि दिएर कालरात्रि मनाइएको छ । कालरात्रिका दिन सरकारी स्तरबाट नै यस किसिमको बलि दिने प्रचलन छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर