newskoseli.Com

बेल्टार तनावग्रस्त : दर्जनौं राउन्ड अश्रुग्यास प्रहार

बुधबार रातिदेखि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रयोग गरेको छ ।

५ दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको हत्या भएको थियो । बुधबार राति उनको शव ल्याउने क्रममा बेल्टार बजारमा हजारौंको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रका विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टार बजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए ।

भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौं स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्ष रुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौं राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए । प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर राति १२ बजेसम्ममा भीड नियन्त्रण भए पनि बेल्टार बजार अझैसम्म तनावग्रस्त रहेको स्थानीयवासीले बताएका छन् ।

बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्ति समेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउने क्रममा बेल्टार बजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ ।

अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दल सहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारी गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए । भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर ५ दिनअघि भीमकुमारी कटुवालको बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । सुवासको अहिले अस्पतालमा उपचार भइरहेको छ भने उनले भाउजूको हत्या आफैंले गरेको स्वीकार पनि गरेको प्रहरीले बताएको छ । तर, भीमकुमारीको हत्यामा राजेन्द्र आफैं र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी छ ।

राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमती विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको प्रहरीले बताएको छ ।

यसअघि नै राजेन्द्रसहित परिवारका सबै ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिसकेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर