newskoseli.Com

असन्तुष्टको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताएका छन् । सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा बिहीबार शिलान्यास गर्दै उनले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।

प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, तीव्रताका साथ पुनर्निर्माण सम्पन्न, युवालाई रोजगारी, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न अाफू निरन्तर लागिपरेको बताए । कृषिमा प्रगति नगरी नेपालको आर्थिक समृद्धि सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गरे ।

सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो आफूसमक्ष आएको भन्दै प्रधानमन्त्री दाहालले अबको केही दिनमा नै पीडितले राहत पाउने बताए । कतिपय वास्तविक पीडित छुटेको गुनासोको सुनुवाइ गर्नका निम्ति आफूले सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहाललाई सिन्धुलीका प्रमुख तीन राजनीतिक दलले सिन्धुलीमा आवश्यक विषयवस्तु समावेश गरेर मागपत्र बुझाए । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त प्रयासमा सिन्धुलीको कपिलाकोटको कोखाजोरमा १३ मेगावाटकाे विद्युत् आयोजना निर्माण, ग्रामीण विद्युतीकरण, सिँचाइमा सुनकोसी मरिण डाइभर्सन, मरिण चदाँहा, कमला नदी तथा चुरे नियन्त्रण, पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण लगायतका विषयवस्तु समावेश गरेर मागपत्र बुझाइयो ।

वि.सं. २०७३ असार ९ मा ठेक्का लागेको पुल वि.सं. २०७६ पुस २८ मा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रसुवा तुत्दी जेभी काठमाडौंले निर्माणको जिम्मा पाएको पुलका लागि सरकारको कूल ४३ करोड ५० लाख रूपैयाँको लागत रहनेछ ।

मरिण क्षेत्रका जनताले झोलुङ्गे पुल माग गरे पनि मरिणको विकासका लागि पक्की पुलको शिलान्यास गरिएको क्षेत्र नं. ३ का सांसद हरिबोल गजुरेलले बताए । उनले मरिणका जनता सधैं जोखिममा रहेको बताउँदै अबको केही वर्षमा पुल निर्माणकार्य सम्पन्न भएपछि यस भेगको विकास हुने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर