newskoseli.Com

संविधान संशोधन भए राजनीतिक–सामाजिक द्वन्द्व : ज्ञवाली

नेकपा (एमाले) का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधन भए देशमा राजनीतिक–सामाजिक द्वन्द्व निम्तने बताउँदै संशोधनको तयारीले त्यस्तो खतरा बढाएको जिकिर गरेका छन् ।

शुक्रबार राजधानीमा प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशन उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आवश्यकता संशोधन नभई संविधान कार्यान्वयन र निर्वाचनको घोषणा भएकाे बताए । उनले भने– “संविधान जारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दोस्रो ठूलो दल एमालेलाई बाहिर राखेर कसरी सर्वस्वीकार्यता हुन्छ ? यसको मानक परिभाषा सुन्ने मन छ ।”

ज्ञवालीले संविधानमा प्वाल पारेर निर्वाचन हुन नदिई अवाञ्छित स्वार्थ लाद्न खोज्ने दिनको पर्खाइ रहेकासँग सतर्क हुनुपर्नेमा जोड दिँदै सामाजिक र राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले गोरखापत्रले आफूलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । चौतारीका अध्यक्ष गणेश बस्नेतले श्रमजीवी पत्रकारहरूको हकहितका लागि आफ्नो सङ्गठन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थालाई सेवा उद्योगका रुपमा विकसित गर्ने तयारी भएको जानकारी दिए ।

कार्यक्रममा शाखाले ५ हजार १ रूपैयाँ राशिको पुरस्कार ‘द राइजिङ नेपाल’ का सम्पादक परमेश्वर देवकोटालाई प्रदान गरियो भने संस्थानका नवनिर्वाचित अध्यक्ष गोविन्द पोखरेललाई सम्मान गरियो । शाखाका निवर्तमान अध्यक्ष अजय शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष नारद गौतम र चौतारीका सो शाखाका इन्चार्ज प्रकाश सिलवाललगायतले अधिवेशन सफलताको कामना गरे ।

गोरखापत्र चौतारीमा सुवेदी

अधिवेशनले गोरखापत्रका अग्रज पत्रकार धातृप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा ऋतुराज सुवेदी, सचिवमा नगेन्द्र सापकोटा, कोषाध्यक्षमा अर्पणा अधिकारी तथा सदस्यमा प्रकृति अधिकारी, दीपक श्रेष्ठ र बिनु श्रेष्ठलाई चयन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर