newskoseli.Com

फास्ट ट्र्याक र एअरपोर्ट बनाउन दबाब दिँदै बारा–काठमाडौं पैदलयात्रा

काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याक (द्रुतमार्ग) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तत्काल गति दिनुपर्ने मागका साथ बारावासीले शनिबारदेखि बारा–काठमाडौं पैदलयात्रा सुरु गरेका छन् ।

सरकारी तहबाट तत्काल निर्माण थालिने भन्दै पटक–पटक घोषणा गरिए पनि निर्माण थाल्न चासो नदेखाएको भन्दै सरोकारवाला पक्षलाई दबाव दिने उद्देश्यले फास्ट ट्र्याक र एयरपोर्ट संघर्ष समिति गठन गरेर संघर्षमा उत्रिएका स्थानीयले पैदलयात्रा सुरु गरेका हुन् ।

शनिबार बिहान निजगढबाट सुरु भएको पैदलयात्रा टोली तीन दिनमा काठमाडौं पुगेर प्रधानमन्त्री र राष्ट्रिय राजनीतिक दलका विभिन्न नेतालाई भेट गरी विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण गराइने समितिका संयोजक रविराज दंगालले न्युजकोसेलीलाई बताए ।

छतिवन, ठिंगन, बुङ्मती हुँदै काठमाडौं पुग्ने पैदलयात्रा टोलीमा ५ महिलासहित ६० जना सहभागी छन् । सरकार र राजनीतिक दलको नेतृत्वपंक्तिलाई दबाव दिन हिँडेको पैदलयात्रा टोलीका सहभागीलाई स्थानीयवासीले अबीर–मालासहित बिदाई गरे । बिदाई कार्यक्रममा विभिन्न संघ–संस्था र स्थानीयवासीको बाक्लो उपस्थिति रह्यो ।

जनताले विकास चाहिरहँदा पनि सरकार र राजनीतिक दल गम्भीर नभएको भन्दै महत्वाकांक्षी योजनामा गम्भीर हुन आग्रह गरिने आफूहरुको उद्देश्य रहेको संयोजक दंगालले बताए । मंसिर ६ मा संघर्षका कार्यक्रम घोषणा गरेको समितिले यसअघि बारासहित विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा स्थानीयबाट आएका प्रतिक्रिया राज्यसम्म पुर्याउनु आवश्यक भएकाले पैदलयात्रा सुरु गरिएको दंगालको भनाइ छ ।

पैदलयात्रा सुरु गर्नुअघि समितिले विभिन्न जिल्लामा ‘फास्ट ट्र्याक अभियानका लागि १ रुपैयाँ लगानी गरौं’ भन्दै अभियान नै सञ्चालन गरेको थियो । अभियानका क्रममा ५० हजारभन्दा बढी रकम संकलन भएको छ ।

फास्ट ट्र्याक र एयरपोर्ट निर्माणका लागि सरकारलाई दबाव दिने सो अभियानका क्रममा समितिले सुरु गरेको हस्ताक्षर कार्यक्रममा १ लाख बढी हस्ताक्षर संकलन भएको छ । पैदलयात्रा पूरा भएपछि संकलित हस्ताक्षरसहितको कपडा समेत सरकारलाई बुझाउने कार्यक्रम रहेको दंगालले बताए ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत पैदल यात्रापछि समितिले फास्ट ट्र्याक र एयरपोर्ट निर्माणका निम्ति दबाब अभियानको सिलसिलामा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गर्ने समेत कार्यक्रम तय गरेको छ । प्रधानमन्त्रीसहित सबै पार्टीका शीर्ष नेताको उपस्थितिमा पुस १९ मा काठमाडौंमा डकुमेन्ट्री देखाइने संयोजक दंगालले बताए ।

डकुमेन्ट्री प्रदर्शनपछि पुस २० देखि माघ २१ सम्म २ नं. प्रदेशका सबै जिल्लामा अन्तर्क्रिया गर्ने र माघ २२ देखि सय दिने रिले अनसन सुरु गरिने समेत संयोजक दंगालले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर