newskoseli.Com

कांग्रेस–एमाले धन्यवादका पात्र, धोकेवाज माओवादी नै : वैद्य

वरिष्ठ माओवादी नेता मोहन वैद्य ‘किरण’ ले कांग्रेस–एमालेहरु धन्यवादका पात्र भएको उल्लेख गर्दै माओवादीहरु नै विश्वासघाती र धोकेवाज भएको तीतो पोखेका छन् ।

‘बरु कांग्रेस–एमाले धन्यवादका पात्र छन्, उनीहरुलाई धन्यवाद दिनुपर्छ किनकि तिनले त कमसेकम गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासम्म स्वीकारे, ती उनीहरुका नभर्इ माओवादीका एजेन्डा थिए’, साेमबार अपराह्न राजधानीमा आयोजित ‘संविधानमा उठेका विवाद र बहस’ शीर्षक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष वैद्यले भने– ‘सबै चिज बिगार्ने त हाम्रै पार्टी हो, हाम्रै नेता हुन् जसले जनयुद्धका सम्पूर्ण उपलब्धि ध्वस्त पारे, सबै एजेन्डा छाडे, जनयुद्ध र माओवादी आन्दोलनलाई ध्वस्त बनाए, विस्तारवाद–साम्राज्यवादका सामु आत्मसमर्पण गरे ।’

‘यो संविधानलाई संशोधन गर्ने, टालटुल पारेर सुधार्ने कुनै सम्भावना छैन, यसलाई खारेजै गर्नुपर्छ, जलाइदिनुपर्छ’, क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलको अध्यक्षतामा गठित ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ को नेवाः राज्य समन्वय समितिद्वारा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले भने– ‘अहिले संविधानलाई जलाउनेमा आदिवासी–जनजाति र मधेशी मात्र छैनन्, हामी पनि छौं । यही सन्देश प्रवाहित गर्न नै हामीले संविधान संशोधनको सेरोफेरोमा चलिरहेका आन्दोलनको पक्षमा वक्तव्य दिएका छौं र समर्थन तथा ऐक्यबद्धता जनाएका छौं ।’

मुलुकमा फेरि अर्को ठूलो क्रान्ति जरुरी रहेको जिकिर गर्दै वैद्यले भने– ‘लोकतान्त्रिक गणतन्त्रका नाममा पुरानै यथास्थितिवादी राज्यसत्ताको पुनर्स्थापना गर्ने संविधान खारेज गर्नुपर्छ, यसको सट्टा संघीय जनगणतन्त्रात्मक संविधान बताउनुपर्छ, त्यसका लागि क्रान्ति अनिवार्य छ र क्रान्तिका लागि सच्चा माओवादीहरु तथा सबैतिरका कम्युनिस्ट र क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्छ ।’ क्रान्तिका निम्ति जनताले बगाएको रगत कुनै हालतमा खेर नजाने ठोकुवा गर्दै अध्यक्ष वैद्यले भने– ‘क्रान्तिकारीहरु निराश र हतास हुनुपर्ने कुनै कारण छैन, जनता र क्रान्तिकारीहरुले बगाएको रगतको मूल्य ब्याजको स्याज गरेर उठाइन्छ, उठ्छ । आन्दोलन हो, आरोह र अवरोह त हुन्छ नै ।’

संविधानसभाको ‘सुधारवादी नारा’ लाई आफूहरुले जनवादी क्रान्ति पूरा गर्ने ‘रणनीति’ अन्तर्गतको एउटा ‘कार्यनीति’ का रुपमा मात्रै स्वीकार गरेको तर मूल नेतृत्वसहित पार्टीपंक्तिको ठूलो कित्ताले त्यसैलाई ‘रणनीति’ मा बदलिदिएर क्रान्तिलाई धोका दिएको आरोप वैद्यले लगाए । सत्तामा बस्नेहरुले संविधान कार्यान्वयन गर्न सकिएन भन्दै रोइकराई गर्नुको अर्थ नभएको बताउँदै वैद्यले प्रश्न गरे– ‘आफ्नै संविधान कार्यान्वयन गर्न नसक्ने भए किन बसेको त सत्तामा ?’

पहिले नारायणहिटीले मालिकको व्यवहार गर्दै आएको भन्दै अध्यक्ष वैद्यले अब त्यो भूमिकामा ‘दिल्ली दरबार’ देखिएको बताए । कृषिप्रधान देश भनिने नेपालमा धान–चामलको परिपूर्तिको त कुरै छाडौं, विश्वमै जलस्रोतको धनी भनिएको देशमा आफूहरुले पानी समेत किनेर पिइरहेनु परेकोमा उनले दुःखेसो पोखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेत्र चन्द नेतृत्वको नेकपा (माओवादी) का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले अहिलेको संविधान र त्यसका अन्तर्वस्तुबारे बहस गर्नु समयको खर्च मात्रै भएको बताए । ‘दलाल तथा नोकरशाही वर्ग र विस्तारवाद–साम्राज्यवादका रबर स्ट्याम्पहरुले जारी गरेको संविधानलाई च्यातचुत पारेर जलाउनुपर्छ र क्रान्तिमार्फत जनताको जनगणतन्त्रात्मक संविधान लागू गर्नुपर्छ’ भन्दै नेता बास्तोलाले भने– ‘सच्चा माओवादीहरु र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर राष्ट्रिय स्वाधीनता रक्षाको ग्यारेन्टीसहित जनतन्त्र र जनजीविका सुनिश्चित गर्ने नयाँ संविधान घोषणा गर्नुपर्छ ।’

माओवादी नेता पवनमान श्रेष्ठले छलफलका निम्ति अवधारणागत बुँदा प्रस्तुत गरेको कार्यक्रममा संवैधानिक कानुनका ज्ञाता प्रा.डा. कृष्ण बेलबासेले संविधानका आधारभूत अवधारणा, मान्यता र प्रवृत्तिबारे चर्चा गरे । आदिवासी जनजाति आन्दोलनका प्रवक्ता प्रा.डा. ओम गुरुङले वर्तमान संविधानका अन्तर्वस्तु, मधेशी आन्दोलनकारीहरुको प्रवृत्ति र सत्तापक्ष तथा विपक्षीका गतिविधिको आलोचना गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर