newskoseli.Com

प्रधानमन्त्रीद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गरे ।

सन्देशमा भनिएको छ – “यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।”

संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु र हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता भएकामा प्रधानमन्त्रीले जोड दिए ।

सरकार संवाद र सहमतिका आधारमा उल्लिखित लक्ष्य हासिल गर्न क्रियाशील रहेको जनाउँदै सन्देशमा प्रधानमन्त्री दाहालले यस अवसरमा सम्पूर्ण ख्रीष्टियन समुदायसँग राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न अपिल गरे।

सन्देशमा भनिएको छ – हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर