newskoseli.Com

१२४औं माओदिवस : वैद्यको विचारोत्तेजक अपिल

आधुनिक चीनका प्रणेता एवं विश्वभरिकै ‘र्‍याडिकल कम्युनिस्ट’ हरुले आदर्शनायक मान्दै आएका माओ त्सेतुङको जन्मदिन २६ डिसेम्बरलाई संसारभरिकै कम्युनिस्टहरुले ‘माओ दिवस’ का रुपमा मनाउने गरेका छन् । सोमबार १२४औं माओदिवस मनाउने सन्दर्भमा नेपाली माओवादी आन्दोलनका एक अग्रज एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आइतबार विचारोत्तेजक प्रेस वक्तव्य प्रेषित गरेका छन् ।

‘कमरेड माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !’ शीर्षकमा अध्यक्ष वैद्यद्वारा सम्प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘पहिले झैं यस वर्ष पनि विश्व सर्वहारा वर्गका महान् नेता, क्रान्तिका शिक्षक तथा रणनीति विशारद कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४औं माओदिवस मनाइँदैछ । माओ दिवसको यस महान् ऐतिहासिक अवसरमा क. माओको विशेष सम्मान तथा संस्मरण गर्द विश्व सर्वहारा वर्ग, नेपाली जनसमुदाय, सम्पूर्ण पार्टी कमरेड तथा शुभचिन्तकहरुप्रति केन्द्रीय समितिको तर्फबाट केन्द्रीय कार्यालय रातो लाल सलाम अर्पण गर्दछ ।’

mao_zedongमाओत्सेतुङका योगदानको चर्चा गर्दै वैद्यले अगाडि लेखेका छन्– ‘माओले अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनु भयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनु भयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा जुन थप योगदान गर्नु भयो, ती सार्वभौम महत्वका रहेका छन् । यसै क्रममा मार्क्सवाद–लेनिनवाद–माओवाद विकसित भएको छ ।’

वर्तमान सन्दर्भमा माओलाई सम्झनुको अर्थ र सान्दर्भिकताबारे चर्चा गर्दै वैद्यले अगाडि लेखेका छन्– ‘आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम प्रबल रुपमा बढ्दै गएको छ । विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको छ । यस स्थितिमा नेपालमा क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौतीहरु पैदा भएका छन् । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनु र क्रान्तिकारी कार्यदिशालाई समृद्ध तुल्याउदै नयाँ जनवादी क्रान्तिको तयारी गर्नु हो । यस प्रकारका चुनौतीहरुको सामना गर्दै क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्नका लागि माओ दिवसले हामीलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्दछ । तसर्थ, कमरेडहरु, माओको १२४औं दिवस विशेष सम्मानका साथ मनाऔं र माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर