newskoseli.Com

कम्युनिस्ट आन्दोलन खुइल्याउन ‘शान्तिक्षेत्र’ : लेखनाथ

नेकपा (माओवादी केन्द्र) का नेता एवं सो पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले समाजमा अधिकार प्राप्तिको आन्दोलन पूरा नभएसम्म शान्ति क्षेत्रको नारा विदेशीको प्रभावमा कम्युनिस्ट आन्दोलनलाई खुइल्याउने गरी मात्रै अघि सार्न खोजिएको टिप्पणी गरेका छन् ।

विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता कार्यान्वयनबारे मंगलबार शिक्षा पत्रकार समूहले आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।

पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले विद्यालय बन्द गराउने पक्षबाट त्यसको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था हुनुपर्ने बताएका छन् । आफ्नो पालामा विद्यालय शान्ति क्षेत्र घोषणा भई कार्यान्वयनका निर्देशका जारी भएको बताउँदै त्यसको पालनाका लागि कानुनी व्यवस्था गरी विद्यालय बन्द हड्तालकर्ताबाट क्षतिपूर्ति भराउनुपर्ने समेत उनले बताए ।

२०६८ जेठ ११ मा मन्त्रिपरिषदले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो । नेकपा (एमाले) का शिक्षा विभाग प्रमुख समेत रहेका उनले शान्ति क्षेत्रको कार्यान्वयनका लागि राजनीतिक दल, सरकार र अभियानकर्मीले निरन्तर पहल गर्नुपर्ने तथा यसका लागि नीतिगत र बजेट, कार्यक्रमको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका युवानेता गुरुराज घिमिरेले सशस्त्र द्वन्द्वकालमा शिक्षा क्षेत्र सबभन्दा बढी प्रभावित भएकाले अब त्यस्ता तीतो इतिहासको पुनरावृत्ति हुने वा बालबालिकामा पर्ने नकारात्मक असर रोक्नुपर्ने बताए । उनले विद्यार्थी सङ्गठनले १६ वर्षमुनिका बालबालबालिकालाई सदस्यता दिनु नहुने जिकिर गरे ।

नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष नवीन राईले आफ्नो सङ्गठनले विद्यालय तहमा सदस्यता नदिने नीति लिएको जानकारी दिए । अनेरास्ववियुका का.वा. अध्यक्ष रश्मि आचार्यले विद्यार्थीलाई सिर्जनशील र जागृत गराउन मावि तहमा सदस्यता दिइएको तर आफूहरु शान्तिविरोधी नभएको जनाइन् । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थी आन्दोलनले अधिकारका विषय उठाउन पाउने व्यवस्था हुनुपर्ने बताए ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष कृष्ण सुवेदीले नागरिक क्षेत्रले विद्यालय शान्ति क्षेत्रको कार्यान्वयनका लागि उठाएको आवाजमा राजनीतिक समर्थन आवश्यक भएको बताए । कार्यक्रममा शिक्षक, अभिभावक तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिले दलहरुले आफ्ना प्रतिबद्धता पालना गरी बालअधिकारको हनन् गर्नु नहुनेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर