newskoseli.Com

संघीयताको कार्यान्वयन : गाउँगाउँमा उत्साह, सदरमुकाममा अन्यौल

सरकारले नेपालको संविधानलाई आधार बनाएर संघीयतालाई कार्यान्वयमा ल्याएसँगै सदरमुकाम मन्थलीमा अन्यौल छाएको छ भने गाउँपालिका र तिनका केन्द्रका नागरिकहरुमा खुशी छाएको छ ।

यसअघि दुईवटा नगरपालिका र ४५ वटा गाविस रहेको रामेछापमा संघीयता कार्यान्वयनपछि ६ वटा गाउँपालिका र २ वटा नगरपालिका कायम भएपछि सर्वसाधारण नागरिक, विभिन्न पेशा–व्यवसायमा संलग्नहरु, कर्मचारी र राजनीतिक दलका कार्यकर्ताहरु समेत खुशी र अन्यौलताको भुमरीमा देखिएका छन् ।

अधिकांश क्षेत्रका नागरिकहरुले कल्पना गरेभन्दा बाहिर रहेर संघीयता कार्यान्वयनको निर्णय सरकारले गरेपछि जिल्ला सदरमुकाम र गाउँपालिकाहरुमा समेत उक्त किसिमको अन्यौलता उत्पन्न भएको हो । यसबाट सदरमुकाममा धेरै जग्गा भएका र बसोबासका लागि घर बनाउनेहरुमा थप अन्योल सिर्जना भएको छ ।

सदरमुकामभन्दा टाढा घर भएर पनि सदरमुकाम मन्थलीमा लामो समयदेखि पेशा–व्यवसाय गर्दै आएकाहरु र विभिन्न कार्यालयहरुमा क्रियाशील कतिपय कर्मचारीहरुको सरुवा स्थानीय तहमा भएपछि झन् अन्यौलता थपिएको छ । सर्वसाधारणहरुमा समेत सदरमुकामको भविष्य अहिलेकै अवस्थामा रहने कि नरहने भन्ने चिन्ता व्याप्त भएको छ ।

त्यसबाहेक स्थानीय तहको पुनर्संरचनासँगै ६ वटै गाउँपालिका र २ वटा नगरपालिकाले काम सुरु गरेपछि ती तहका केन्द्र आसपासका वडाहरुमा खुशीयाली छाएको उमाकुण्ड गाउँपालिका ठोसेका शंकर बस्नेतले बताए । उनले भने– ‘अहिले सरकारले ल्याएको संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउने हो भने सर्वसाधारणहरुले लोकतन्त्रको अनुभुति गर्न पाउनेछन् । उनीहरुले आफ्नै गाउँपालिकामा सिंहदरबारको सुविधा प्राप्त गर्न सक्ने सरकारको भनाइअनुसार सबैखालका सेवा–सुविधा स्थानीय निकायमै पाउनेछन् ।’

नगरपालिकामा बजार विस्तारसँगै आफू र सन्तानको भविष्यलाई लक्षित गरी घरजग्गा खरिद र निमार्णको काम समेत सँगसँगै अगाढि बढ्नेछन् । यो क्रमले आकार लिएसँगै गाउँपालिकामा पुग्ने विभिन्न वित्तिय संघ–संस्थाहरु र गैरसरकारी संघ–संस्थाहरु समेत नयाँ गाउँपालिकाका लागि बरदान सावित हुने भएकाले पनि आफूहरुमा उत्साह पलाएको लिखु गाउँपालिकास्थित बिजुलीकोटका गोपाल तामाङले बताए । उनले भने– ‘तर यसले संस्थागत रुप लिइसक्न केही समय भने लाग्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर