
जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी २ करोड ४० लाख ८२ हजार रूपैंया राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा ३५ हजार १ सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार १९५ जनाको सवारी अनुमति पत्रमा प्वाल पारिएको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिए ।
चालु आ.व. को साउन देखि फागुन सम्ममा ७५ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका थिए । मोटरसाइको स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदूषण गर्ने १४१ मोटरसाइकल चालकलाई पक्राउ गरी जरिवानापछि अभिभावकको जिम्मा लगाइएको थियो ।