newskoseli.Com

ढोरपाटनमा सिकारको दर वृद्धि

ढोरपाटन सिकार आरक्षमा सिकारको दरमा वृद्धि आएको छ ।

सिकार याम (असोज–मङ्सिर)मा २ लाख ५० हजार रहेको दर अहिले बढेर १३ लाख ५ हजारसम्म पुगेको छ । सिकार एजेन्सीले चालु सिकार याममा एउटा झारल सिकारको १३ लाख ५ हजार र नाउरको ८ लाख ७५ हजार राजस्व तिरेका छन् ।

सिकार गराउने एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाका कारण राजस्वको दर बढेको सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । “सिकारको दर बर्सेनि घटबढ हुने गरेको छ,” उनले भने ।

२ वर्षअघि एउटा झारल सिकारको दर ९ लाख ३१ हजारसम्म पुगेको थियो । यस याममा झारल सिकारको दर अहिलेसम्मकै उच्च हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर बढ्ने गरेको छ ।

“माग बढी र सिकारको कोटा कम हुँदा हुने सिकार एजेन्सीबीचको प्रतिस्पर्धाले राजस्वको दर बढ्ने गर्छ,” बरालले भने– “यस याममा ३ वटा झारलको मात्र सिकार अनुमति दिइएकाले बोलपत्र आह्वानमा बढी प्रतिस्पर्धा भयो ।” अघिल्लो सिकार याम (असोज–मङ्सिर) मा ७ वटा झारलको कोटा निर्धारण गरिए पनि सिकारको माग कम हुँदा दर पनि घटेको थियो ।

विभागले विद्युतीय बोलपत्र आह्वान गरेर छानिएका सिकार ऐजन्सीलाई मात्र सिकारको अनुमति दिने गरेको छ । एजेन्सीले आरक्षका विभिन्न ‘ब्लक’ मा पुगेर विदेशी सिकारीलाई नाउर र झारलको सिकार गराउने गरेका छन् । सिकारको दरमा आउने परिवर्तनले राजस्व सङ्कलनमा पनि घटबढ ल्याउने गरेको छ । यस वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर) मा ३३ लाख ६८ हजार ९०० राजस्व सङ्कलन भएको छ ।

चालु सिकारयाम (फागुन–वैशाख) मा नाउर र झारलको सिकार अनुमतिबाट एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस याममा १० नाउर र ३ वटा झारलको सिकार अनुमति दिइएको छ । विभिन्न सिकार एजेन्सीमार्फत ढोरपाटन पुगेका विदेशी सिकारी अहिले सिकारमा व्यस्त छन् ।

वैशाखकाे दोस्रो सातासम्म चल्ने सिकारमा नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे्रल्र्स प्रालिले सिकार गराउनेछन् । सिकारका लागि यस वर्ष पनि अमेरिका, रुस, स्पेनलगायत मुलुकबाट तालिमप्राप्त सिकारी ढोरपाटन पुगेका छन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

एउटा सिकारीले वन्यजन्तुको सिकारमा २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेको छ । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर