८ हजार ८ सय ४८ मिटर उचार्इ मानिँदै आएको सगरमाथाको उचार्इलार्इ विवादित तुल्याउँदै फेरि नाप्न केही विदेशी कम्पनीले कुदाकुद गरिरहेका बेला सरकारले आफ्नै स्रोत–साधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।
सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन सुरु गर्ने अन्तिम तयारी सकिएको छ । सगरमाथा मापनका लागि सरकारले २ करोड रूपैयाँ विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले दिएका छन् ।
उनले भने– “भूमिसुधार मन्त्रालयले सगरमाथाको उचार्इ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेका थियौं, सोही अनुरुप सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि आवश्यक तयारी गरेर हामी मापनको अन्तिम चरणमा पुगेका छौं ।”
भूमिसुधार तथा व्यवस्था मन्त्रालय र नापी विभागले उचार्इ मापनको कार्य अगाडि बढाउनेछ । मापन सुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नाप–नक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ ।
मंसिर २५ र २६ मा काठमाडौंमा भएको गोष्ठीमा मापनका लागि नापी विभागले तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए । विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाएको हो ।
आजभन्दा १ सय ७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचार्इ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले पुनः मापन गरी फरक–फरक उचार्इ निकालेका थिए । तर, त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल सुरु गर्ने नापी विभागले जनाएको छ । दुई वर्षभित्र उचार्इ मापन कार्य सक्ने विभागले जनाएको छ ।