newskoseli.Com

गाउँघरमै पानीको किनबेच ! प्रतिलिटर ४ रुपैयाँ…

गाउँमा पानीको चरम अभाव भएपछि खाँडादेवी गाउँपालिका– ४, पकरवासका सर्वसाधरणहरु पानी किन्न बाध्य भएका छन् । त्यो पनि कम होइन, प्रतिलिटर ४ रुपैयाँमा ।

गत वर्षसम्म प्रतिलिटर २ रुपैयाँमा पानी किनेर प्रयोग गर्दै आएका यस ठाउँ र आसपासका मानिसहरु बढ्दो मूल्यवृद्धिसँगै ट्यांकर व्यवसायीहरुले भाऊ बढाएको भन्दै यस वर्षदेखि प्रतिलिटिर ४ रुपैयाँमा पानी किनेर दैनिक व्यवहार चलाउन थालेका हुन् ।

ट्यांकर व्यवसायीहरुको विभिन्न बहानाबाजीसँगै गाउँमा चलेको पुनर्निमार्ण अभियान र विभिन्न व्यावसायिक गतिविधिका कारण पानीको खपत बढेपछि प्रतिलिटर पानीको ४ रुपैयाँ तिर्न आफूहरु बाध्य भएको स्थानीय पदमकुमारी मानन्धरले न्युजकोसेलीलाई बताइन् ।

उनका अनुसार पकरवासमा मात्र होइन, आसपासका भीरपानी, माकादुम, गाल्बा बजारलगायतका ठाउँहरुमा पनि खानेपानीको चरम अभाव छ । समयमा वर्षात् नहुनु र न्यून वर्षात् हुनुलगायतका कारण यी गाउँका खानेपानीका अधिकांश पुराना मुहानहरु सुके ।

अन्य वैकल्पिक मुहान नभएका कारण पकरवास र आसपासका मानिसहरुले खानेपानीका लागि गाउँबाट १५ किलोमिटर टाढा रहेको तामाकोशी नदी र भटौली खोलाको भर पर्नु परेको छ ।

अर्का उपभोक्ता भीमबहादुर खत्रीले पनि पानीको अभावकै कारण गाउँमा संकटपूर्ण अवस्था सिर्जना भएको बताए । सामान्य घरव्यवहारदेखि बिहेबटौल, पुनर्निमार्णलगायतका सबैजसो कामका लागि ट्यांकरकै पानीको भर पर्नुपर्दा सर्वसाधारणलाई दैनिक जीवन गुजारामै समस्या सिर्जना भएको खत्रीले बताए ।

पानीको अभावका कारण परम्परागत रुपमा गाईवस्तु र बाख्रापालन गर्दै आएका तथा व्यावसायिक रुपमा पशुपालन थालेकाहरुले समेत काम छाड्दै आएका छन् । यसो हुँदा गाउँमा उत्पादन र रोजगारीमा कमी आउनुका साथै सर्वसाधारणको आय–आर्जनमा समेत गिरावट भएको भीमबहादुरले बताए ।

पकरवास आपसासका गाउँको अप्ठ्यारोलाई महशुस गरी स्थानीय अगुवाहरुको पहल र खानेपानी डिभिजन कार्यालय मन्थलीको सहयोगमा पकरवासको रजगाउँनजिकै इनारको व्यवस्था गरी तामाकोशी नदीको पानी लिफ्ट सिस्टममार्फत तान्ने वृहत् खानेपानी योजनाको काम युद्धस्तरमा अघि बढाइएको छ ।

यस योजनाले पूर्णता पाएपछि पकरवास र भीरपानी तथा माकादुममा समेत खानेपानीको समस्या केही हदसम्म समाधान हुने विश्वास नागरिक अगुवा हिमाल ढुंगेलले व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर