सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो शक्तिशाली बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।
मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका– १ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका– १२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान घाइते भएको प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिएका छन् ।
बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भेटवालले बताए । मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसा समेत फुटेका छन् ।
बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए ।